काठमाडौं / वि. सं. २०३२ मा संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त १ करोड २४ लाख रुपैयाँबाट नेपाली सेनाले कल्याणकारी कोष खडा गरेको थियो । यही कोष अहिले ४५ वर्षमा ५८ अर्ब रुपैयाँको सम्पत्ति  साँच्न सफल भएको तथ्य नेपाली सेनाले सार्वजनिक गरेको छ ।

अलग कोष खडा गरेर गतिविधि गरेको प्रति नेपाली सेना बेलाबेलामा आलोचित हुने गरेको भए पनि उसले यसमार्फत विद्यालय, अस्पताल, उच्च शिक्षा, पेट्रोल पम्प, व्यापारिक कम्प्लेक्सलगायतमा लगानी गरेको छ ।

OM Sai Pathibhara Hospital

 प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा हालै आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै दिएको जानकारीअनुसार, २०७७ पुस मसान्तसम्म कोषको कूल पुँजी बढेर ५८ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । प्रधानसेनापति  थापाका अनुसार, बहालवाला र अवकाशप्राप्त सैनिकको योगदान, मूल पूँजीबाट आर्जित व्याज र लगानीबाट कोषमा बढोत्तरी भएको हो ।

कोष मजदुत भएसँगै यसबाट सञ्चालित सेवा सुविधा समयानूकुल सुधार गरिएको पनि पनि प्रधानसेनापतिले गर्वसाथ बताए । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकालमा यो कोषको खर्च विगतमा भन्दा अलिक पारदर्शी र जथाभावी खर्चमा पनि नियन्त्रण गरिएको सकल दर्जाले महसुस गरेको जानकारी हुन आएको छ । 

 यति मात्रै होइन, प्रधानसेनापति पूर्णचन्द्र थापाले कोषको उचित प्रयोग, मितव्ययिता र पारदर्शीतासमेत ध्यान दिइएको जिकिर उक्त अवसरमा गर्न भ्याए । प्रधानसेनापति पूर्णचन्द्र थापाको दाबीअनुसार, भूपू सैनिक, बहालवाला सैनिक र तिनको परिवारलाई प्रोत्साहन गर्न विशेष ध्यान दिइएको छ । कमजोर आर्थिक स्थिति भएकाको जीवनस्तर उकासी समाजमा सम्मानजनक जीवनयापन गराइएको दाबी पनि प्रधानसेनापति थापाको छ ।

हिसाब किताब अपारदर्शी

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र उल्लेखनीय सुधारको यत्न गरिरहेका छन् । आलोचकहरूले थापा नातावाद र कृपावादमा फसेको आरोप लगाउने गरेका भए पनि समग्रतामा हेर्दा प्रधानसेनापति पूर्णचन्द्र थापाले सुधार गर्दै प्रशंसनीय काम नै गरिरहेका छन् । विगतमा अनेक काण्डमा मुछिने गरेका सैनिकले कथित उच्च ओहदामा रहेकै कारण उन्मुक्ति पाउने गरेकोमा उनले दण्डहीनताको त्यो अवस्थालाई तोडिदिएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले चालेको यही कदमका कारण हालै मात्र कैयन् सेनाका उच्चपदस्थ अधिकारीको घटुवा भएको छ भने केहीले जागिरबाट नै हात धुनु परेको छ । अन्य विभागीय कारबाही झेल्ने पनि उत्तिकै छन् । अर्थात् उनले दण्ड र पुरस्कारको प्रबन्ध गरेर सेनाको व्यावसायिकतामा इँटा थपिदिएका छन् ।

 केही दिनअघि आयोजित भूपू सैनिक सम्मेलन समारोहमा सुधारवादी प्रधानसेनापति थापाले बहालवाला र अवकाशप्राप्त सैनिकको योगदान, मूल पूँजीबाट आर्जित व्याज र लगानीबाट कोष भरिभराउ भएको सैनिक कल्याणकारी कोष पारदर्शी ढंगले सञ्चालन भएको दाबी गरे । तर प्रधानसेनापति पूर्णचन्द्र थापाको दाबी र कोषको अवस्था भने दुरुस्त मिल्दैन ।

 जनताको करबाट पालिएको नेपाली सेनाले कल्याणकारी कोषअन्तर्गत अनेक क्षेत्रमा लगानी गरेको छ । तर उसले अहिलेसम्म कुन कुन क्षेत्रमा कति कति लगानी गरिएको छ ? त्यसको वार्षिक प्रतिफल के कस्तो छ ? बाणिज्य बैंकहरुमा रकम राख्दा कुन कैंकले कति व्याज दिन्छ वा बढी ब्याजका लागि बाणिज्य बंकहरु बिचमा प्रतिस्पर्धा गराएर राखेको छ कि सोर्सफोर्सका आधारमा राखिएको छ ?

कुनकुन बैंकमा कति कति ब्याजमा रकम राखिएको छ, संचाल खर्च वार्षिक कति प्रतिशत भएको छ ? र त्यसको समग्र अवस्था कस्तो छ भनेर सार्वजनिक गर्न आवश्यक ठानेको छैन । कतिसम्म भने स्वयं शान्ति स्थापनार्थ ज्यानको बाजी राखेर कोषमा योगदान गरेकासमेत सुसूचित हुन सकेका छैनन् । 

नेपाली सेनाका एक अवकासप्राप्त दुईतारे जर्नेल कल्याणकारी कोषमा चरम अनियमितता वर्षौंदेखि चलिरहेको बताउँछन् । कोषमा अनियमितता भएकै कारण उच्च तहकाले बढी र तलकाले कम लाभ पाउने अवस्था आएको ती जर्नेलको भनाइ छ । ‘यो कोष सेनाका उपल्लो तहका हाकिमहरूका लागि खुदो बन्दै आइरहेकाले यसमा गरिएको लगानी, त्यसबाट भएको नाफा नोक्सानको यथार्थ विवरण अब आफूलाई सुधारवादी बताउने प्रधानसेनापति थापाले गर्नुपर्छ,’ ती जर्नेलले भने ।