म्याग्दी / म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा वनपाखामै खेर गएका हुन् ।
रघुगङ्गा–६ मा पर्ने ठाडाखानी गाउँको सिरानमा पर्ने रुमले भिर, धौलागिरि–५ मल्कबाङको मल्काबाङे भिर र मालिका गाउँपालिकाको ओखरबोटका साथै बेनी–३ को चिनाखेत भिरमा रहेका तामाखानी प्रयोगविहीन हुँदा स्थानीय सरकारले करोडौँ राजस्व गुमाउनुपरेको छ । यहाँका विशाल तामाखानी वर्षौँदेखि अलपत्र अवस्थामा छन् ।
एक सय छ वर्षअघि विसं १९७१ सालमा बन्द भएको रुमले भिरको तामाखानी सञ्चालनमा अझैसम्म पनि स्थानीय र प्रदेश सरकारले कुनै चासो नदेखाएको स्थानीयवासीले बताएका छन् । त्यस्तै वर्षौँदेखि प्रयोगविहीन भएका मल्कबाङका तामाखानीहरु पनि पुरिन थालेका छन् । करिब १०० वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरायसी भाँडाबर्तनहरु बनाउने गर्दथे । बाहिरबाट तामाका भाँडाहरु खरिद गर्नु पर्दैनथ्यो । तत्कालीन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन् ।
मल्कबाङ गाउँमा मात्र एक दर्जनभन्दा बढी तामाखानी छन् । खानी उत्खनन गर्नु स्थानीय छन्त्याल जातिको पुख्र्यौली पेशा हो । “गाउँदेखि माथिका पहाडहरुमा तत्कालीन समयमा तामा उत्खनन गरेका सुरुङहरु छन् । पाखाभरि प्रशस्त तामाखानी छन्, प्रयोगमा नआएपछि पुरिन थाले”, स्थानीयवासी दलमान छन्त्यालले भने “माल पाएर पनि चाल नपाएपछि टुलुटुलु हेर्ने बाहेक हामीसँग विकल्प रहेन ।”
तामाखानी सञ्चालनका लागि झन्झटिलो कानूनी प्रक्रिया र उपकरणको अभाव नै मुख्य समस्या भएको स्थानीयवासीले बताएका छन् । सरकारले सहज कानूनी व्यवस्था गर्नुका साथै सीप र प्रविधि उपलब्ध गराउन सके खानी सञ्चालनमा ल्याउन कुनै समस्या नरहेको रघुगङ्गा–६ का वडा सदस्य टेकजीत छन्त्यालले बताएका छन् । तामाखानीको अध्ययन र अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउन स्थानीयवासीले बारम्बार माग गरिरहेको उनले बताएका छन् ।
“गाउँमै प्राकृतिक स्रोतसाधन भएर पनि उपयोग गर्नबाट वञ्चित छौँ”, स्थानीयवासी हिमाली छन्त्यालले भने , “यहाँको तामाखानी सञ्चालनमा आउने हो भने रोजगारीका लागि खाडी मुलुक जानु पर्ने बाध्यताको अन्त्य हुनुका साथै सरकारलाई पनि प्रशस्तै आम्दानी हुने थियो ।”