बिर्तामोड / महालक्ष्मी विकास बैंकले प्रवाह गर्ने गरेको सुन कर्जामा भएको हिनामिनका कारण बैंकबाट १२ केजी सुन हराएको तथ्य सार्वजनिक भएको छ । बैंकको काठमाण्डौ स्थित कुमारीपाटी शाखाबाट प्रवाह भएको सुन कर्जामा १२ केजी सुन तलमाथि भएको तथ्य खुलेको हो ।

नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान व्युरो (सीआईबी ) ले राष्ट्र बैंकको आग्रहमा गरेको अनुसन्धानका क्रममा बैंकको सो शाखाबाट १२ केजी सुन हराएको भेटिएको हो । 

OM Sai Pathibhara Hospital

अनुसन्धानमा संलग्न सिआईवीका अधिकारीले छानविनका क्रममा ५ केजी सुन राखेर १७ किलो सुन राखेको किर्ते कागज बनाई कर्जा प्रवाह गरेको भेटिएको हो । बैंक कर्मचारीसँगको मिलेमतोमा सुनचाँदी कारोवारमा संलग्न व्यवसायीले त्यसरी कर्जा प्रवाह भएकोे पाईएको हो।

सुनचाँदी व्यवसायीले गैरकानुनीरुपमा सर्वसाधारणबाट धितोमा लिएका सुनचाँदीका सामाग्री बैंकमा राखेर लोन निकाल्ने गर्दै आएका छन् । राष्ट्र बैंक र सुनचाँदी व्यवसायीका संघ–संगठनले पसल तथा फर्मबाट गैरकानुनीरुपमा हुने गरेको बैंकिङ कारोबार नगर्न पटक – पटक निर्देशन दिंदै आएको भएपनि पछिल्लो यो घटनासँगै त्यसतो कारोवार समेत नरोकिएको पनि खुलासा भएको छ । 

सुनचाँदी व्यवसायीले गैरकानुनी रुपमा गर्दै आएको धितो–बन्धक कारोवार नराकिेएकाले नै महालक्ष्मी बिकास बैंकमा सुन कर्जामा ठुलो रकम हिनामिना भएको वित्तिय क्षेत्रका जानकार बताउँछन् । व्यवसायीले सर्वसाधारणबाट धितोमा आएका गहना भेला पारी बैंकमा राखेर व्याज मुनाफाका लागि गैरकानुनीरुपमा यस्तो धन्धा गर्दै आएका छन् । उनीहरुले व्यक्ति अनि स्थान हेरेर २ देखि ३ प्रतिशत सम्म ब्याज असुल्ने गरेका छन् ।

व्याजमा आएको फरक नै आम्दानी हुने भएकाले सुनचाँदी व्यवसायीले यस्तो धन्धा गर्दै आएका हुन् । गैरकानुनीरुपमा हुँदै आएको यस्तो धन्धा रोक्न राष्ट्र बैंक सहितका सरकारी निकाय र व्यवसायीकै संघ–संगठनले समेत निर्देशन दिंदै आएका भएपनि यो कारोबार भने अहिले सम्म पनि रोकिएको छैन ।

प्रदेश–१ को धरान स्थित सेन्चुरी बैंकको शाखा कार्यालयमा यही प्रकृतिको लोनमा भएको गोलमालसँगै सुन कर्जामा हुने गरेको हिनामिना सतहमा आएको थियो । धरानकै सेन्चुरी बैंक सहित नेपाल बैंक , प्राइम बैंक र सानिमा बैंक लगायतमा लगातार यस्ता घटना भएको सार्वजनिक भएपछि सरकारी निकायले एक नम्बर प्रदेशका जिल्लाहरुमा यस्ता कारोबारमा पूर्णतया बन्देज गराउने कोशिस गरेका थिए ।

सरकारी निकायले अनुगमन र कारवाही थालेपछि लाखौं सर्वसाधारणले धितोमा राखेका गहना पाएका छैनन् भने सर्वसाधारणले महँगो ब्याजको लोभमा जम्मा गरेको अवौं रुपैंया समेत गुमाएको यस अघि नै सार्वजनिक समेत भएको थियो । 

महालक्ष्मी बिकास बैकमा भएको हिनामिनामा संलग्न रहेको आरोपमा सीआईबीले बयान लिएपछि कामु सीइओ शर्मालाई पदमुक्त गरेको छ । बैंक कर्मचारीसँग मिलेर धितो भन्दा बेसी लोन निकाल्ने व्यवसायीहरु पूर्ण राई, देवानन्द राई, सन्दिप लिम्बू, बैंकका कर्मचारी स्मृती राना, पिंकु पालिखे, अनिस सिंह सिजापति र सुजाता लामिछानेलाई पक्राउ गरी सिआईबीले अदालतमा बुझाएको थियो ।

बैंकलाई क्षती पुर्याउने काम गरेको र त्यसरी अपचलन भएको रकम केहि कर्मचारीले चलाएको पाईएपछि उनीहरुमाथि सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गरी मुद्दा चलाउन सिआईबीले सिफारीस समेत गरेको छ । 

सीआईबीले ७ करोड ६१ लाख ७ सय ४३ रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालतमा १२ वटा छुट्टा–छुट्टै मुद्दा दायर गरेको छ । सीआईबीले बैंक कर्मचारी र व्यवासायी गरी २५ जना घटनामा संलग्न देखिएको भन्दै मुद्दा दायर गरेको हो । पक्राउ परेका ८ जनालाइ सीआईबीले अदालतमा बुझाउँदै पक्राउ पर्न बाँकी रहेका १७ जनालाई भने फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । फरार १७ जना मध्ये ५ जना बैंक कर्मचारी अनि लोन निकाल्ने सुनचाँदी व्यवसायी रहेको बताईएको छ । 

फरार रहेका बैंक कर्मचारीमा लोकचन्द्र प्रसाई, निर्मला श्रेष्ठ, सुनिल सापकोटा, शोभा अर्याल र निरज बिष्ट छन् । त्यसैगरी ऋणीहरु धर्मभक्त राई, अनन्त भण्डारी, वेदन कुमार विक, भीमप्रसाद विक, मनोज ज्ञवाली, अगमवीर लिम्बू, नरेश विक, अनिसा राई, रेजिना राई, संजय राई थुलुङ, मोहन सुनार, निरज बिष्ट र गर्जकुमारी राई भने फरारको सुचिमा समाबेस छन् ।

सर्वसाधारणबाट भेला गरेको सुन राखी बैंकबाट एकै व्यक्तिको नाममा लोन निकाल्दा सम्पतिको स्रोत खोजबिन हुने भएकाले बैंकमा भएको आर्थिक अपचलनमा अन्य व्यक्तिलाई समेत प्रयोग गरिएकाले अपराधमा संलग्नको संख्य बढेको सीआईबीको भनाई छ । 

बैंकको लोन प्रवाह भएको अभिलेखमा १७ किलो ५ सय ५७ ग्राम सुन धितोमा देखिनु पर्नेमा ५ किलो २ सय २८ ग्राम सुन मात्र रहेको पाइएको थियो ।