दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सहायक कम्पनीमार्फत ल्याउन लागेको मोबाइल मनी ‘नमस्ते पे’ जोडिन बैंक खाता अनिवार्य नहुने भएको छ । 

OM Sai Pathibhara Hospital


टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी नेपाल डिजिटल कम्पनीले केही सातापछि नै यसको सुरुवात गर्ने सम्भावना छ । 


‘राष्ट्र बैंकबाट कम्पनीको स्थलगत निरीक्षण भइसकेको छ,’ राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी निर्देशक सरस्वती अधिकारीले भनिन्, ‘अब बाँकी भनेको सञ्चालन अनुमति मात्रै हो ।’


नेपाल टेलिकमको ६२ प्रतिशत र वाणिज्य बैंकको ३८ प्रतिशत लगानीमा स्थापना भएको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । वाणिज्य बैंक नमस्ते पेमार्फत हुने कारोबारको राफसाफ बैंकका रूपमा रहनेछ । 


नमस्ते पे एप चलाउने सेवाग्राहीले बैंकमा खाता नभएकै अवस्थामा समेत यसमार्फत कारोबार गर्न सक्नेछन् । बैंक खाता नहुने विभिन्न काउन्टर, एजेन्टमार्फत समेत सेवाग्राहीले आफ्नो नमस्ते पे वालेटमा रकम जम्मा गर्न सक्छन् । रेमिट्यान्स रकमलाई समेत यसमा जम्मा गर्न सकिने प्रयास गर्न थालिएको छ । 


टेलिकमको कार्ड लिँदा नै ग्राहक पहिचान कायम गरिएको हुने भएकाले बैंक खाताविना समेत रकम जम्मा गर्न सकिने व्यवस्था गर्न लागिएको हो । हाललाई टकटाइम, एयर भ्यालुलाई भने पैसामा रूपान्तरण गर्न सकिनेछैन ।    


‘अवधारणामा टकटाइम वा भनौँ सिममा भएको रकमलाई समेत एपमा पठाएर रकममा परिवर्तन गर्न सकिने व्यवस्था गरेका थियौँ,’ अधिकारीले जानकारी दिइन्, ‘तर, हाललाई यसमा नजान राष्ट्र बैंकबाट आग्रह भएको छ, भविष्यमा यसको सम्भावना पनि छ ।’ 


पब्लिक कम्पनीका रूपमा रहने यस कम्पनीले भविष्यमा सर्वसाधारणमा समेत सेयर जारी गर्नेछ । भुक्तानी प्रदायकहरूले समेत २० प्रतिशतसम्म सेयर जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरिसकेको छ । १ अर्ब अधिकृत पुँजी रहेको कम्पनीमा रणनीतिक साझेदार भित्र्याउने सोचसमेत राखिएको छ । 


राष्ट्र बैंकले यसअघि नै वालेटमा रहने रकममा ब्याज दिन सकिने व्यवस्था गरेको छ । कम्पनीले पनि ग्राहकको वालेटमा ब्याज दिने सोच अगाडि बढाएको छ । विभिन्न मुलुकमा दूरसञ्चार कम्पनीहरूले ल्याएका मोबाइल मनीमा साना स्तरमा कर्जा दिन सकिने सुविधा पनि दिइएको छ । हाललाई नेपाल डिजिटल कम्पनीले यो सुविधा भने दिनेछैन । 


हाल सञ्चालनमा रहेका विभिन्न मोबाइल वालेटबाट मासिक ८ अर्ब ९८ करोड रुपैयाँ र मोबाइल बैंकिङबाट मासिक ३० अर्ब २८ करोडबराबरको कारोबार हुन्छ । यो भनेको मुकुकभित्र हुने कुल डिजिटल कारोबारको १ दशमलव ६९ प्रतिशत हिस्सा मात्रै हो । ठूला टेलिकम कम्पनीले यो सेवा सुरुवात गर्दा यो हिस्सा उच्चदरमा बढ्ने सम्भावना छ ।


हाल नेपाल टेलिकमको जिएसएम सिम प्रयोगकर्ताको संख्या १ करोड ८२ लाख छ । अन्य सेवाप्रदायकमा समेत गरेर कुल मोबाइल सिम प्रयोगकर्ता ३ करोड ६० लाख छन् । बैंकहरूमा मोबाइल बैंकिङ सेवा लिनेको संख्या भने १ करोड ३६ लाख छ । 


बैंक खाता अनिवार्य नहुने र जुनसुकै मोबाइलका प्रयोगकर्ताहरूले एप चलाउन सक्ने भएकाले पनि विद्युतीय कारोबारको दायरा यसले बढाउन सक्ने देखिएको छ ।