बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदारीको सहमतिअनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ९ अनुसार गरिएको सिफारिसमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रस्ताव गरिएको छ।नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ मंगलबार दिउँसो ३ः२५ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने तय भएको छ।

मन्त्रिपरिषद् पुनर्गठनसँगै केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, कृषि मन्त्रालय सम्हालेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयमा पठाइएको छ।सामाजिक विकास मन्त्रालयमा रहेका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

यस्तै, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।लुम्बिनीमा भएको सत्ता साझेदारीको सहमतिअनुसार अब प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी नेपालबाट दुई जना मन्त्री रहनेछन्।

नयाँ मन्त्रीको नियुक्ति र जिम्मेवारी हेरफेरसँगै लुम्बिनी सरकारको संरचना सत्ता साझेदार दलबीचको सहमतिअनुसार अघि बढेको छ।