काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले सरकारको आर्थिक नीति र चालु आर्थिक वर्षको बजेटप्रति तीव्र असन्तुष्टि जनाएकी छन्। उनले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै अर्थमन्त्रीमाथि व्यंग्यात्मक टिप्पणी गरेकी हुन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संग्रौलाले बजेट कार्यान्वयनको कमजोरी पहिलो महिनामै देखिन थालेको बताइन्। उनका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नहुनु सरकारको आर्थिक नीतिप्रति निजी क्षेत्रको अविश्वासको संकेत हो।उनले भनिन्, ‘बैंकमा पैसा छ, तर व्यवसायी ऋण लिएर लगानी गर्न तयार छैनन्। के दुईतिहाइ बहुमतको सरकारको अर्थनीतिमाथि व्यवसायीको विश्वास छैन ?’

संग्रौलाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३६ देश चिनेको दाबी गरिए पनि आफ्नै देशको अर्थतन्त्रको अवस्था बुझ्न नसकेको आरोप लगाइन्।पुँजीबजारमा आएको गिरावटप्रति सरकार गम्भीर नबनेको आरोप लगाउँदै उनले अर्थतन्त्रको समस्या समाधान गर्नुपर्ने समयमा अर्थमन्त्री ‘चिठ्ठा खेलाउन व्यस्त’ रहेको टिप्पणी गरिन्।

उनले बैंकिङ प्रणालीमा तरलता थुप्रिएर पनि लगानी विस्तार हुन नसक्नु, पुँजीबजारमा गिरावट आउनु र व्यवसायीमा लगानीको आत्मविश्वास कमजोर हुनु सरकारका लागि गम्भीर चुनौती भएको बताइन्।संग्रौलाले आर्थिक समस्या समाधान नगरी देशको विकास सम्भव नहुने भन्दै सरकारलाई आफ्नो आर्थिक नीति र बजेट कार्यान्वयनबारे पुनर्विचार गर्न आग्रह गरिन्।

सांसद संग्रौलाको दाबी-पुँजीबजारमा ६ खर्ब डुब्यो, बैंकमा तरलता थुप्रियो, तर लगानीको वातावरण बनेन।