कर्णाली। अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार रिसाङका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो । पहिरोमा परी सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज, तीन जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको छ । अन्य तीन जना स्वास्थ्य लाभ गरेर घर फर्केका छन् । 

प्रहरीका अनुसार पहिरोको जोखिमलाई दृष्टिगत गरी सो वडाका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवान परिचालन भएका छन् ।