काठमाडौँ । केही दशकयता कार्यालयको कार्यसंस्कृतिमा आएको परिवर्तनले मानिसको काम गर्ने शैली र बानीमा कैयौँ बदलाव ल्याएको छ।

तर, कामको ध्याउन्नमा धेरैजसो मानिस स्वास्थ्यका सामान्य लक्षणलाई बेवास्ता गर्छन्। यीमध्ये उच्च रक्तचापलाई प्रायः सामान्य समस्या मान्ने गरिन्छ। ल्यापटप अगाडि बसेर लामो समयसम्म काम गर्नु, निरन्तर मानसिक तनाव, निद्राको कमी, राति ढिलोसम्म जागा रहने बानी र शारीरिक निष्क्रियताका कारण २५ देखि ४५ वर्ष उमेरसमूहका मानिसमा उच्च रक्तचापको समस्या तीव्र रूपमा बढिरहेको विज्ञहरू बताउँछन्।

यद्यपि, चिन्ताजनक कुरा के छ भने धेरै मानिसको रक्तचाप क्लिनिकमा जाँच्दा सामान्य देखिन्छ, तर काम वा कार्यालयको समयमा भने उच्च रहन्छ। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘मास्क्ड हाइपरटेन्सन’ भनिन्छ। कैयौँ अध्ययनले देखाएअनुसार यस्ता व्यक्तिहरूमा सामान्य मानिसको तुलनामा भविष्यमा हृदयघात, स्ट्रोक र मिर्गौला रोगको जोखिम उच्च हुन्छ।

के हो ‘मास्क्ड हाइपरटेन्सन’ ?
‘मास्क्ड हाइपरटेन्सन’ भनेको यस्तो अवस्था हो, जसमा चिकित्सकको क्लिनिकमा जाँच्दा रक्तचाप सामान्य (१४०/९० एमएमएचजीभन्दा कम) देखिन्छ तर घर, काम, यात्रा वा दैनिक गतिविधिको समयमा भने लगातार उच्च रहन्छ। यसलाई ‘ह्वाइट कोट हाइपरटेन्सन’ को ठीक विपरीत अवस्था मानिन्छ।

‘ह्वाइट कोट हाइपरटेन्सन’ मा भने क्लिनिकमा जाँच्दा मात्रै रक्तचाप उच्च देखिन्छ र क्लिनिकबाट बाहिर आएपछि सामान्य हुन्छ।

विज्ञहरूका अनुसार यस अवस्थाको सबैभन्दा ठुलो खतरा भनेको नियमित जाँचका क्रममा यो समस्या पत्ता नलाग्नु हो। जसका कारण बिरामीले आफ्नो रक्तचाप पूर्ण रूपमा सामान्य छ भन्ने विश्वास गर्छन्, तर शरीरभित्र रक्तनली र मुटु निरन्तर दबाबमा परिरहेका हुन्छन्।

सामान्य उच्च रक्तचापभन्दा कसरी फरक छ यो अवस्था ?
‘अमेरिकन हार्ट एसोसिएसन’ का अनुसार, सामान्य उच्च रक्तचाप हुँदा व्यक्तिको रक्तचाप घर, कार्यालय र क्लिनिक जताततै लगातार उच्च रहन्छ। तर, ‘मास्क्ड हाइपरटेन्सन’ मा भने दैनिक भागदौड र तनावको परिस्थितिमा मात्र रक्तचाप बढ्छ। क्लिनिकमा जाँच गराउँदा वा चिकित्सकलाई भेट्दा भने यो सामान्य नै देखिन्छ।

युवाहरूमा किन बढ्दैछ यो समस्या ?
आजको व्यस्त जीवनशैलीलाई ‘मास्क्ड हाइपरटेन्सन’ को सबैभन्दा ठुलो कारण मानिन्छ। निरन्तर बसेर काम गर्नु, समयसीमाभित्र (डेडलाइन) काम सक्नुपर्ने तनाव, मोबाइल फोन र ल्यापटपको अत्यधिक प्रयोग, अपर्याप्त निद्रा, अत्यधिक क्याफिन (चिया/कफी), धूम्रपान र प्रशोधित खानाको सेवनले शरीरमा तनाव बढाउने हर्मोन (‘कोर्टिसोल’ र ‘एड्रेनालिन’) को स्तर बढाउँछ। यसले दिनभरि रक्तचाप उच्च बनाउँछ र आराम गर्दा मात्र सामान्य स्तरमा फर्कन्छ।

कुनै लक्षण नदेखिने यो समस्या कति खतरनाक ?
‘साइन्स डाइरेक्ट’ का अनुसार, ‘मास्क्ड हाइपरटेन्सन’ प्रायः वर्षौंसम्म कुनै स्पष्ट लक्षणबिना नै लुकेर रहन सक्छ। तर, यो अवधिमा रक्तचाप लगातार उच्च रहनाले बिस्तारै धमनीहरूलाई क्षति पुर्‍याइरहेको हुन्छ। यसले मुटुको मांसपेशी बाक्लो बनाउने, स्ट्रोकको जोखिम बढाउने, मिर्गौलाको कार्यक्षमतामा ह्रास ल्याउने र आँखाका रक्तनलीहरूलाई समेत असर गर्न सक्छ।

कसरी बच्ने ‘मास्क्ड हाइपरटेन्सन’बाट ?

यदि तपाईंलाई ‘मास्क्ड हाइपरटेन्सन’ छ भने रक्तचापलाई सामान्य बनाइराख्न विशेष ध्यान दिनुपर्छ। यसका लागि आफ्नो जीवनशैलीमा निम्न परिवर्तन गर्न सकिन्छ:

हप्तामा कम्तीमा १५० मिनेट व्यायाम गर्ने।
काम गरिरहँदा प्रत्येक ४५ देखि ६० मिनेटमा उठेर हिँड्डुल गर्ने (स्ट्रेचिङ गर्ने)।
खानामा नुनको मात्रा सीमित गर्ने।
धूम्रपान र मदिरा सेवन नगर्ने।
दैनिक ७ देखि ८ घण्टा पर्याप्त सुत्ने।
तनाव कम गर्न ध्यान (मेडिटेसन) गर्ने र गहिरो सास फेर्ने अभ्यास गर्ने।
यदि तपाईंको परिवारमा कसैलाई उच्च रक्तचाप छ वा पारिवारिक इतिहासमा यो समस्या छ भने घरमै नियमित रूपमा आफ्नो रक्तचापको निगरानी गर्नुहोस्।

‘मास्क्ड हाइपरटेन्सन’ यस्तो अवस्था हो, जसलाई नियमित क्लिनिकल परीक्षणमार्फत सधैँ पत्ता लगाउन सकिँदैन। तर बढ्दो मानसिक तनाव, अनियमित जीवनशैली र कार्यालयमा हुने कामको चापका कारण विशेषगरी युवाहरूमा यसको जोखिम तीव्र रूपमा बढ्दै गएको छ।

यदि तपाईंको रक्तचाप पनि कामको समयमा मात्र बढ्छ वा तपाईंको पारिवारिक इतिहासमा उच्च रक्तचापको समस्या छ भने यसलाई हल्का रूपमा नलिनुहोस्। तुरुन्तै चिकित्सकसँग परामर्श लिनुहोस्।