काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद भूमिका श्रेष्ठले देशभरका बाल सुधार गृहको अवस्था सन्तोषजनक नरहेको भन्दै सुधारका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएकी छन्।
सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भक्तपुर, रूपन्देही र कास्कीस्थित बाल सुधार गृहको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले पूर्वाधार, सुरक्षा र व्यवस्थापनमा गम्भीर कमजोरी देखाएको जानकारी दिइन्। श्रेष्ठका अनुसार रूपन्देहीस्थित बाल सुधार गृहको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यहाँ रहेका बालबालिकाको व्यवस्थापनका लागि गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयबीच समन्वय गरी तत्काल समाधान खोज्न आवश्यक छ।
उनले भक्तपुरको सुधार गृहमा बालक र बालिकालाई एउटै परिसरमा राखिएको तथा स्थान अभावका कारण बालिकाले नियमित अध्ययन गर्न नपाएको विषय पनि उठाइन्। बालबालिकासम्बन्धी ऐन, २०७५ र संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धिले बालबालिकालाई कैदीको रूपमा व्यवहार गर्न नहुने व्यवस्था गरे पनि व्यवहारमा त्यसको पूर्ण पालना नभएको उनको भनाइ थियो।
श्रेष्ठले बाल सुधार गृहमा रहेका धेरै बालबालिका यौनजन्य मुद्दामा रहेको र केही घटना उमेर नपुगेका किशोर–किशोरीबीचको सम्बन्ध तथा सामाजिक असमझदारीका कारण भएको हुन सक्ने उल्लेख गर्दै यस्ता विषयलाई संवेदनशील रूपमा कानुनी व्यवस्थापन गर्नुपर्ने धारणा राखिन्।
उनले १८ वर्षमाथि र मुनिका व्यक्तिका लागि छुट्टाछुट्टै व्यवस्था, पर्याप्त पूर्वाधार निर्माण तथा सुधार गृहको समग्र व्यवस्थापनमा सुधार गर्न सरकारसँग आग्रह गरिन्।