एजेन्शी  ।  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधन भएको इरानको सरकारी टेलिभिजनले जनाएको छ। सन् १९८९ देखि सर्वोच्च नेता रहेका खामेनीको निधनपछि सरकारले ४० दिने राष्ट्रिय शोक घोषणा गरेको छ भने देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

इरानको सरकारी टेलिभिजनमा कालो ब्यानर राखिएको छ र पृष्ठभूमिमा निरन्तर कुरान वाचन भइरहेको छ। आँसु झार्दै टेलिभिजन प्रस्तोताले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को विज्ञप्ति पढेसँगै इरानका ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु आधिकारिक रूपमा पुष्टि भएको छ।

अमेरिका र इजरायलको संयुक्त भीषण आक्रमणमा मारिएका खामेनीको ‘शहादत’लाई इरानले उत्पीडकहरूविरुद्ध ‘विद्रोहको सुरुवात’ हुने चेतावनी दिएको छ। इरानको सरकारी न्युज च्यानलले स्क्रिनको माथिल्लो बायाँ कुनामा कालो ब्यानर राखेर खामेनीका तस्बिरहरूसँगै कुरानको धुन बजाइरहेको छ। टेलिभिजनमार्फत नै देशमा ४० दिनको राष्ट्रिय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरिएको छ।

सुरक्षा परिषद्को विज्ञप्तिमा खामेनीको मृत्युको सम्पूर्ण दोष अमेरिका र इजरायललाई लगाइएको छ। यद्यपि, उनको मृत्यु कुन अवस्थामा भयो र अब इरानको नयाँ सर्वोच्च नेता को हुनेछन् भन्नेबारे टिभी प्रसारण र विज्ञप्तिमा केही खुलाइएको छैन। यो आक्रमणले इरानको उच्च नेतृत्वलाई गम्भीर धक्का दिएको छ। सीबीएस न्युज र फार्स न्युज एजेन्सीका अनुसार आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ, नाति र एकजना बुहारीको मृत्यु भएको छ।

इरानका रक्षामन्त्री र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका शीर्ष कमाण्डरसहित करिब ४० जना उच्च पदस्थ सैन्य तथा सरकारी अधिकारीहरू पनि मारिएको गुप्तचर स्रोतलाई उद्धृत गर्दै बताइएको छ।Screenshot_2026_0301_081832