एजेन्शि । इरान र इजरायलबिचको युद्धले निकै भयानक र अमानवीय मोड लिएको छ। दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको छ।

यसअघि पाँच जनाको मृत्यु भएको भनिए पनि भग्नावशेषबाट थप शवहरू निकालिएपछि मृतकको संख्या ह्वात्तै बढेको इरानी समाचार एजेन्सी फार्सले पुष्टि गरेको छ।  युद्धको राप छिमेकी मुलुक बहराइनमा पनि सल्किएको छ। बहराइनको गृह मन्त्रालयले अमेरिकी नौसैनिक आधार शिविर रहेको जुफैर क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सुरु गरेको छ।

उक्त सैन्य अखडामाथि इरानी हमला भएपछि आकाशमा बाक्लो धुवाँ देखिएको छ।  प्रशासनले नागरिकहरूलाई सुरक्षाकर्मीसँग पूर्ण सहयोग गर्न र जोखिमपूर्ण क्षेत्र खाली गर्न निर्देशन दिएको छ।