काठमाडौं – आगामी निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले शनिबार दिउँसो १ बजे राजधानीको खुला मञ्चमा ‘उज्यालो प्रतिबद्धता सभा’ आयोजना गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन मार्फत पार्टीका प्रचार–प्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले कार्यक्रममार्फत देशलाई आश्वासनभन्दा परिणाममूखी विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरिने बताए ।
उनले मुलुक अहिले आर्थिक, सामाजिक र संरचनागत चुनौतीको चरणमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा देशलाई नयाँ ऊर्जा, स्पष्ट योजना र कार्यान्वयनयोग्य कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे ।
‘देशलाई केवल भाषण होइन, वास्तविक परिणाम चाहिएको छ,’ उनले भने, ‘ऊर्जा विकासमार्फत उद्योग, रोजगारी र समृद्धिको आधार निर्माण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’
गुरुङका अनुसार सभामा पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिनेछ । उनले ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक उन्नतिको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै जलस्रोतको सदुपयोगबाट औद्योगिक विस्तार सम्भव रहेको बताए ।
कार्यक्रमलाई पार्टीले केवल चुनावी सभा मात्र नभई नीति–प्रतिबद्धता सार्वजनिक गर्ने राष्ट्रिय संवादको रूपमा लिएको जनाएको छ । सभामार्फत पार्टीले आर्थिक रूपान्तरण, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र युवालाई रोजगारी सिर्जना गर्ने योजनाबारे जनतालाई जानकारी गराउने तयारी गरेको छ ।
गुरुङले काठमाडौंमा बसोबास गर्ने नागरिकसँगै छिमेकी जिल्लाबाट समेत सहभागी हुन आग्रह गर्दै सञ्चारमाध्यममार्फत उक्त सन्देश देशभर र विदेशमा रहेका नेपालीसम्म पु¥याइदिन आग्रह गरे ।
उनले खुला मञ्चलाई नेपाली राजनीतिक इतिहासमा परिवर्तनका आवाज उठ्ने स्थलका रूपमा स्मरण गर्दै अब राजनीतिक परिवर्तनभन्दा आर्थिक रूपान्तरण आवश्यक रहेको बताए ।
‘हामीले भन्दै आएका छौँ, क्रान्तिपछि शान्ति, शान्तिपछि समृद्धि । अब समृद्धिको चरणमा पुग्न आर्थिक रूपान्तरण अपरिहार्य छ,’ उनले भने ।
त्यस्तै, उनले वर्तमान निर्वाचनलाई शान्त, सभ्य र मर्यादित बनाउन सबै राजनीतिक दल र कार्यकर्तालाई संयम अपनाउन आग्रह गरे । गाली–गलौज र तनावमुक्त वातावरणमा लोकतान्त्रिक अभ्यास सुदृढ हुने भन्दै उनले सभ्य राजनीतिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
उज्यालो नेपाल पार्टीले उक्त सभामार्फत जनसमर्थन विस्तार गर्नुका साथै आफूलाई परिणाममुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति लिएको जनाएको छ ।





































