जनकपुर— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा १ सय ५८ जनाले मनोयन दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको विवरणअनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर धनुषा–१ मा ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, धनुषा–२ मा ३४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् भने ३ मा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । धनुषा–४ मा भने ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउनेहरुमा विभिन्न ठूला पार्टीका शिर्ष नेताहरुका साथै नयाँ उम्मेदवारहरुको संख्या पनि उत्तिकै देखिएको छ । क्षेत्र नं. ३ मा सबै भन्दा बढी प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, नेकपा एमालेका जुली महासेठ र रास्वपाका मनिस झाले मनोनयन दर्ता गराएका छन् । यी तीनै जनाबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

धनुषा क्षेत्र नं. १ मा कांग्रेसबाट रामपल्टन साह, नेकपा एमालेबाट रामचन्द्र मण्डल, रास्वपाबाट किशोरी साह, जसपा नेपालबाट दिपक कार्की, नेकपाबाट मातृका यादव, जनमतबाट ब्रम्हदेव यादव उम्मेदवार बनेका छन् ।

क्षेत्र नं. २ मा कांग्रेसबाट दिनेश परसौला यादव, नेकपा एमालेबाट उमाशंकर अरगरिया, रास्वपाबाट रामविनोद यादव, जसपा नेपालबाट पशुपति यादव, नेकपाबाट रामचन्द्र झा, जनमतबाट सुरेन्द्र यादव उम्मेदवार बनेका छन् ।

यस्तै क्षेत्र नं. ४ बाट कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ, रास्वपाबाट राजकिशोर महतो, जसपा नेपालबाट कृष्णचन्द्र साह, नेकपाबाट संजयकुमार महतो, जनमतबाट इन्द्रजीत यादव उम्मेदवार बनेका छन् ।

धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ५ लाख १४ हजार ५७१ मतदाता रहेको छ । क्षेत्रगत अनुसार क्षेत्र नं. १ मा करिब १ लाख १५ हजार, क्षेत्र नं. २ मा १ लाख १० हजार, क्षेत्र ३ मा १ लाख २० हजार र क्षेत्र नं. ४ मा करिब १ लाख १८ हजार मतदाता रहेका छन् ।