रानीले राजा बन्न गरेको आग्रह एउटा मामुली चोरले अस्विकार गर्दछ रानी क्रोधित बन्छिन र त्यस पछि के हुन्छ नाटक ‘चरणदास चोर’हेरिरहेका दर्शकको आँखामा हेरे पुग्छ ।
दर्शकको मनलाई स्तब्ध बनाउने गरी नाटकमा प्रस्तुत भइरहेको छ- पथरीमा । शब्द थिएटरले यो नाटक हरियाली सामुदायिक वनको हलमा मञ्चन गरिरहेको छ । बुधवार सम्म आइपुग्दा धेरैको वाहावही बटुलिरहेको छ, नाटकले र दिनमा ३ शो सम्म भइरहेको छ । नाटक हेर्न विशेषत विद्यार्थीको भिड बडदो छ र आयोजकका अनुसार अझ ४ दिन सम्मका १२ शो विभिन्न विद्यालयले ‘बुक’ गरिसकेका छन् । यो नाटकलाई रंगकर्मी जीवन बरालले निर्देशन गरेका हुन् ।
भारतका चर्चित नाटककार हविव तनवीरले लेखेको चर्चित नाटक ‘चरणदास चोर’ विश्व रंगमञ्चमा निकै लोकप्रिय मानिन्छ । यो नाटक सत्य, इमानदारी र समाजप्रतिको नैतिक प्रश्नलाई उठाउँदै अन्याय, शोषण र सत्ता–सम्पत्तिको दुरुपयोगविरुद्ध कटाक्ष गर्छ ।
साउनको ३१ वाट सुरु भएको नाटक प्रर्दशन भाद्र १३ सम्म चल्ने छ । नाटक अहिले दैनिक ३ सो सम्म भइरहेका छन् । नाटकमा चोरको प्रस्तुतीले अहिले नेपाली समाजमा देखिएका वस्तुस्थीतीलाई विम्वका रुपमा प्रस्तुत गरिएको छ ।
वर्षै अघि भारतिय क्षेत्रका नाटककारले लेखेको नाटक भएपनि अहिले पनि यो अवस्था हाम्रौ समाजमा देखिने र भोगीने अवस्थाका रुपमा ढाल्ने काम भने निर्देशक बरालले गरेका हुन् । उनले ठूलो साहस गरेर नाटक निर्देशनको तारतम्य मिलाएका छन् । नाटकको मोडले यस्तो अवस्था पुर्याउछ जहाँ चारेको शालिक मुनी जो कोहि शिर ननिहुराई बस्न सक्दैन् ।
मोरङ्गको पथरीमा रहेका नाटक प्रेमीको मन भावना वुझेर नै जीवनले यस्तो साहस गरेका हुन् , उनको साहस सराहनीय छ । जीवन काठमाडौका विभिन्न नाट्य घरमा नाटक निर्देशन र अभिनय गरिरहेका नाटककार । अहिले ‘चरणदास चोर’लाई गाँउ फर्काए झै जीवन पनि गाँउ फर्किएका छन् । जीवन संगकाठमाडौमा नाटक मै संर्घष गरिरहेका कलाकारहरु सुमन कुइकेल र प्रेम प्रसाद खतिवडा पनि गाँउ फर्किएका छन् ।
नाटकमा मुख्य पात्र चरणदास एक चोर हो, तर ऊ झूट नबोल्ने प्रतिज्ञामा बाँधिएको छ । जब समाजका ठूला जमिनदार, मन्त्री, पुजारीदेखि साधुसम्म—सबै भ्रष्टाचार, प्रपञ्च र लोभमा डुबिरहेका देखिन्छन् त्यहाँ चरणदासले आफ्नो इमानदारी र सत्यतामा अडिग रहँदै व्यवस्था र समाजको दोहनलाई प्रश्न गर्छ। यही कारण ऊ समाजका लागि चोर भए पनि चरित्रले दर्शकलाई नायक झैँ लाग्छ।
यस नाटकमा कलाकारहरूले जीवन्त अभिनय गरेका छन् । प्रेम प्रसाद खतिवडाले चरणदास चोरको भुमीकामा न्याय गरेका छन् । उनकै वरिपरि घुुम्ने नाटकका मुख्य अभिनेता नै उनी हुन् । पथरीका खतिवडा काठमाडौका थ्रिएटरमा पनि चिनीएका नाम हुन् । सुमन कुइकेलले रानीको भुमीकालाई न्याय दिएकी छन् । साधु बाबा बनेका नविन रिजालको अभिनयमा केहि वडी हाउभाउले उनको वास्तविक अभिनयलाई कता कता घकेलेजस्तो देखीन्छ । भूमिका बस्नेतको धनी महिलाको भुमीकालाई आहा भन्ने दर्शकले उनको गालीलाई चै सहजै पचाउदैनन् । नाटकमा अशोक साम्पाङ्ग जमिनदार,पुष्प राई – हवल्दार र राजपुरहित,सन्तोष (छत्र) राई मन्त्री रोशन मुर्मु – चटपटेवाला, प्रसुना तिम्सिना – जुवडे, प्रबेश खाती खंजाञ्चीको भुमीकामा छन् भने नाटकमा ग्रीष्मा लिम्बू अतिशा श्रेष्ठ करुणा तिम्सिना लगायतका कलाकारको भुमीका देखीन्छ । नाटकलाई थप सांगितीक बनाउन एउटा नृत्य र एउटा गितलाई समेत समाबेश गरिएको छ । नृत्यको कोरियाग्राफ पथरीकै राम विकले गरेका छन् भने गित पुष्प राईको संगीत भुमीका बस्नेत र पुष्प राईको स्वर रहेको छ ।
यो नाटक केवल मनोरञ्जन मात्र नभई गहिरो सामाजिक टिप्पणी हो । चोरको रूपमा चित्रित पात्रमार्फत सत्ता, धर्म र सम्पत्तिको नाममा गरिने अन्यायलाई प्रष्टसँग प्रस्तुत गरिएको छ।
नाटकले दर्शकलाई सत्य र नैतिकतामा अडिग रहनु नै मानवताको सबैभन्दा ठूलो मूल्य हो भन्ने सन्देश दिन सफल भएको छ ।
निर्देशक जीवन बरालले जटिल कथा संरचनालाई सरल र दृश्यात्मक बनाएर प्रस्तुत गर्नुभएको छ । दृश्य व्यवस्थापन, संवादको लय र पात्रहरूको तालमेलमा सन्तुलन देखिन्छ । अझ मोरङ्गको विराटनगर बाहिर पहिलो पटक नै होला प्रकाशको भरपुर प्रयोग गरेर नाटकलाई थप परिस्कृत बनाइएको छ ।
रुपान्तरणकर्ताहरू राजन खतिवडा र आशान्त शर्माले भारतीय सामाजिक सन्दर्भलाई नेपाली परिवेशसँग मिलाउने प्रयास गरेका छन् जसले दर्शकलाई कथावस्तुसँग नजिक ल्याएको छ।
नाटकले देखाउँछ—सत्य बोल्ने मान्छे समाजमा असहज हुन्छ, जबकि झूट, भ्रष्टाचार र शोषण गर्नेहरू सुरक्षित हुन्छन् । चरणदासको मृत्यु नै यो विडम्बनाको चरम प्रतीक हो ।
चरणदास चोर एउटा यस्तो नाटक हो जसले हाँसाउँछ पनि, तर हाँस्दै गर्दा सोच्न बाध्य पार्छ। अभिनय, निर्देशन र कथावस्तुको सशक्त संयोजनले यो मञ्चनलाई सफल बनाएको छ । सत्यवादी चोर चरणदास मार्फत नाटकले भन्न खोजेको सन्देश स्पष्ट छ ‘चोरी वा अपराध भन्दा ठूलो समस्या भनेकै समाजमा व्याप्त झूट, अन्याय र दुरुपयोग हो’ ।