काठमाडौं— अस्ट्रेलियाको डार्बिनमा सुरु भएको टप इन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । नेपाली टोलीले घरेलु टोली नर्दन टेरिटोरीसँग खेल खेल्नेछ ।
खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए’ सँग, सोमबार मेलवार्न स्टार्स एकेडेमीसँग, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग र अर्को शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका तय गरिएको छ ।
सिरिजपछि नेपालले अस्ट्रेलियामा एक हप्तासम्म अतिरिक्त अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई खेल र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई म्याच खेल्ने तालिका छ । यस्तै, नेपालले ३० अगस्टमा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल पनि खेल्नेछ ।
नेपाली टोली टी–२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया पुगेको हो । अस्ट्रेलियामा तयारी सकेपछि टोली सेप्टेम्बरमा यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ । त्यसपछि नेपाली टिम अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटमा भाग लिने तयारी छ ।