रामेछाप— जिल्ला प्रशासन कार्यालय रामेछापले अपाङ्गता भएका तथा सदरमुकाम आउन नसक्ने नागरिकलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ।
सदरमुकाम आउन नसक्दा नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न प्रशासनले यो अभियान थालेको हो। सोही क्रममा रामेछाप नगरपालिका–७ सुकाजोरका टिकाबहादुर खत्रीलाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा गएको टोलीले घरमै पुगेर नागरिकता प्रदान गर्यो।
जन्मजात अपाङ्गता भएका खत्री आमाको सहयोगमा जीवनयापन गर्दै आएका छन्। 'सदरमुकाम आउन नसकेकै कारण कोही नागरिक नागरिकताको अधिकारबाट वञ्चित हुनु हुँदैन,' प्रजिअ थापाले भने, 'सूचना पाएपछि हामी घर–घरमै पुगेर सेवा दिन तयार छौं।'
त्यसैगरी, प्रशासनले राष्ट्रिय परिचयपत्र वितरण पनि वडास्तरसम्म विस्तार गर्ने योजना अघि सारेको छ। अब फोटो सङ्कलनदेखि कार्ड वितरणसम्मको सेवा स्थानीय तहमै उपलब्ध हुनेछ।