काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय कमिटीको समापन बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच कडा बहस भएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा पुनः सक्रिय हुन नदिन गरिएको निर्णयलाई लिएर बैठक तनावपूर्ण बनेको हो।
अध्यक्ष ओलीले पार्टी विधान र संविधानका विभिन्न धाराहरू उद्धृत गर्दै भण्डारीलाई राजनीतिमा फर्कन नदिने निर्णय बैठकमा प्रस्तुत गरे। उनले भने, “आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई पार्टीमा नफर्कन, बरु आफ्नो गरिमा अनुरूप सल्लाहकार र अभिभावकको भूमिकामा बस्न आग्रह गर्ने निर्णय गरेको छ।”
ओलीको उक्त निर्णयपछि उपाध्यक्ष पाण्डेले तत्कालै उठेर कडा प्रतिवाद जनाए। “तपाईं ठूलो गल्ती गर्दै हुनुहुन्छ, कमरेड! यस्तो निर्णयले पार्टीलाई गम्भीर, दीर्घकालीन असर पुर्याउनेछ,” भन्दै उनले बैठकमै सार्वजनिक रुपमा असहमति व्यक्त गरे।
पाण्डेले एमालेको २०५४ सालको छैठौं महाधिवेशनको स्मरण गर्दै इतिहासमा पनि यस्ता निर्णयले पार्टीलाई क्षति पुर्याएको बताएका थिए। उक्त महाधिवेशनमा दुई नेताहरूको कारबाही भोलिपल्टै फिर्ता गरिएको उदाहरण दिँदै, पाण्डेले फेरि त्यस्तै गल्ती नदोहोर्याउन आग्रह गरे।
पाण्डेले इतिहास उल्लेख गर्दै विरोध जनाइरहँदा अध्यक्ष ओली आक्रोशित देखिए। “के भनेर कारबाही गरिएको थियो रे!” भन्दै ओलीको स्वर चर्किएपछि ओली पक्षका केन्द्रीय सदस्यहरूबाट पनि बैठकमा होहल्ला सुरु भयो।
एक सहभागी सदस्यका अनुसार, “राति करिब ११:५० बजेको थियो, तर बैठकको अन्तिम क्षण निकै तिक्तपूर्ण भयो।”
पाण्डेले ओलीको निर्णय प्रक्रिया र कार्यशैलीप्रति असन्तोष जनाउँदै ‘स्टालिन शैली’को आलोचना पनि गरे। “स्टालिनको बुट बज्नासाथ पार्टी काँप्थ्यो, के तपाईं पनि त्यस्तै पार्टी बनाउन खोज्दै हुनुहुन्छ?” भन्दै उनले कटाक्ष गरे।
त्यसपछि ओली झनै क्रोधित हुँदै “म स्टालिन हो? मैले यस्तो पार्टी बनाएको हो?” भन्दै पाण्डेलाई बोल्न नदिने प्रयास गरेका थिए।
उपाध्यक्ष युवराज ज्ञवालीले पनि ओलीको निर्णयप्रति असहमति जनाए। भण्डारीलाई राजनीतिमा फर्कन नदिने निर्णयलाई उनले ‘हृदयविदारक’ भने।
ज्ञवालीले भने, “सदस्यताको विषय सचिवालयबाट सुविचारित ढंगले टुंग्याउनु उपयुक्त हुन्थ्यो। किन अहिले नै टुंगो लगाउने हतार?”
ओलीले निर्णय फेरि नहुने स्पष्ट पार्दै असहमति भए लिखित रूपमा राख्न आग्रह गरे। त्यसपछि उपाध्यक्ष पाण्डे र ज्ञवालीले बैठकको निर्णयमा औपचारिक रूपमा ‘नोट अफ डिसेन्ट’ (असहमतिको टिप्पणी) दर्ता गराएर बैठकस्थलबाट बाहिरिएका थिए।