हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारमा निर्माण भइरहेको क्रिकेट रंगशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय सहकार्यमा निर्माण भइरहेको रंगशाला आधुनिक पूर्वाधारसहितको बन्ने लक्ष्य राखिएको छ ।
रंगशालामा अहिले मुख्य पिच, मैदानको संयोजन, तारबार र एक साइडको दर्शकदिर्घा (स्ट्यान्ड) निर्माण भइसकेको छ । मैदान चारैतिर घेराबार गरिएको छ भने मैदानको छेउमा हरियाली र व्यवस्थित ग्रीन आउटफिल्ड विकास भइरहेको छ ।
रंगशालाको पूर्वी भागमा पिचको संरचना तयार पारिएको छ भने चारैतिर बलबाउन्ड्रीको लागि तारबारको काम पूरा भएको छ । रंगशालाको एक छेउमा आधुनिक छानावाला स्ट्यान्ड बनाइएको छ, जहाँ दर्शकहरूको बस्ने व्यवस्था छ ।
मैदानको ग्रीन आउटफिल्ड सजिएको छ, पृष्ठभूमिमा पहाड र हरियालीले दृश्यलाई अझ रमणीय बनाएको छ ।
रंगशाला तयार भएसँगै मकवानपुर जिल्लाका क्रिकेट प्रतिभाहरूलाई अभ्यास र प्रतियोगिताको स्थायी पूर्वाधार उपलब्ध हुनेछ । साथै, भविष्यमा प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ ।