काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्कनुको प्रमुख उद्देश्य नेकपा एमालेको नेतृत्व लिनु नै भएको स्पष्ट रूपमा बताएकी छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे पहिले नै जानकारी गराइसकेको र पार्टी सदस्यता पनि लिइसकेको बताइन्।
इमेज टेलिभिजनलाई बिहीबार दिएको ५५ मिनेटभन्दा लामो विशेष अन्तर्वार्तामा पत्रकार जगदिश खरेलसँग कुराकानी गर्दै भण्डारीले अहिले नै सार्वजनिक रूपमा घोषणा गर्ने समय नभए पनि आफ्नो लक्ष्य एमालेको अध्यक्ष बन्नु नै रहेको बताइन्।
खरेलले सोधेको “तपाईं एमालेको अध्यक्ष बन्नकै लागि फर्किनुभएको हो?” भन्ने प्रश्नमा भण्डारीले दोधार नगरी भनिन्, “त्यसमा कुनै सन्देह छ र?” उनले थप भनिन्, “११औं महाधिवेशन अझै तोकिएको छैन, तर सार्वजनिक बहस शुरु भइसकेको छ। मेरो कुरा पनि त्यतैतिर नै जान्छ।”
पूर्वराष्ट्रपतिले प्रधानमन्त्री बन्ने चाहना राखेकी हुन् कि भन्ने प्रश्नमा उनले सबै विकल्पका लागि आफू खुला रहेको जनाउँदै भनिन्, “पूर्वराष्ट्रपतिका रूपमा सबै सुविधा त्यागेर म जनताको सेवा र राष्ट्रिय आकांक्षा पूरा गर्न राजनीतिमा आएकी हुँ। अहिले त्यो वा यो भन्ने बेला होइन। देशलाई जे गर्दा राम्रो हुन्छ, त्यही गर्ने हो।”
उनले एमाले अध्यक्ष केपी शर्मा ओली अझै पनि पार्टी नेतृत्वमा दोहोरिन नचाहने विश्वास व्यक्त गरिन्। “उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली एउटै कक्षाको परीक्षा दोहोर्याएर दिने खालको होइन,” भन्दै उनले ओली फेरि अध्यक्ष नहुने विश्वास प्रकट गरिन्।
भण्डारीले ओलीसँग आफ्नो नियमित संवाद भइरहेको र उनी आफ्नो निर्णयप्रति सकारात्मक रहेको पनि बताइन्। “उहाँले मेरो निर्णयलाई हार्दिक रूपमा लिएको ठानेकी छु। उहाँ सकारात्मक हुनुहुन्छ,” उनले भनिन्।
पार्टी नेतृत्व निरन्तर एउटै व्यक्तिले धानिरहनु नसक्ने उल्लेख गर्दै भण्डारीले अब नयाँ पुस्ता वा टिमका सदस्यलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बेला आएको बताइन्। “मलाई आशा छ, मेरो निर्णयलाई ओलीजीले स्वागत गर्नुहुनेछ,” भण्डारीले स्पष्ट पारिन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कँदा प्रणालीमा समस्या आउँछ भन्ने आलोचनालाई भण्डारीले खारेज गरिन्। उनले भनिन्, “म नेपालकी छोरी हुँ, अहिले राजतन्त्र छैन। मेरो राजनीतिमा फर्किएको कुरा किन यस्तो ठूलो विषय बनाइयो, मलाई नै अचम्म लागिरहेको छ।”
पूर्वराष्ट्रपतिले राजनीतिमा फर्कँदा पदको गरिमा घट्छ भन्ने टिप्पणीलाई उनले “फुर्सदको कुरा” भनेकी छन्।






































