जनकपुर–  मधेश प्रदेशमा औंलोका आयातित बिरामीका कारण निवारणमा चुनौती थपिएको छ । प्रदेशस्तरीय औंलो निवारण निर्देशक समितिको बिहीबार जनकपुरधाममा बसेको अद्र्धवार्षिक बैठकमा प्रस्तुत गरिएको तथ्यांकहरुले आयातित बिरामीले मधेशमा औंलो निवारणमा चुनौती थपिएको देखाएको हो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले खुला सीमानाले औंलो रोग निवारणमा चुनौती थपिएको बताए । मन्त्री सिंहले खुला सीमानाले आंैलो निवारणका लागि लिएको लक्ष्य पूरा हुन नसकेको तर्क गरे ।

सन् २०१६ देखि २०२५ भित्र नेपालबाट औंलो निवारण गर्ने राष्ट्रिय लक्ष्य थियो । तर, अझै औंलोका बिरामी फेला पर्ने गरेकालाई सन् २०३० सम्म औंलो शुन्यमा झार्ने लक्ष्य तय गरिएको छ ।

खुला सीमानाकाले आवतजावत सहज रहेकाले भारतबाट औंलोको बिरामी नेपालमा आउने गरेको छ, उनले भने–सीमानाकामै जाँच गर्ने व्यवस्था मिलाइएको हो । तर, आवतजावत बढी रहेकाले सीमानाकामा जाँच प्रभावकारी हुन सकेको छैन् ।

आंैलोका आयातित बिरामी बढी रहेकाले यसलाई सीमानाकामै रोक्ने उपाय गर्नुपर्नेमा मन्त्री सिंहले जोड दिए । स्थानीय बिरामी न्युन छ, उनले भने–तथ्यांकहरुले आयातित बिरामीको संख्या बृद्धि भएको देखाएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले ज्वरोको लक्ष्ण देखिएमा स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिए । जाँचमा हेलचक्रयाईले गर्दा औंलोको बिरामी बढ्ने गरेकाले समस्या देखिएमा जाँच गराउनुपर्ने धारणा उनको थियो । खुला सीमानाका चुनौती रहेकाले नागरिकले आफैपनि स्वास्थ्य जाँचमा गंभीर बन्नुपर्ने धारणा उनले व्यक्त गरे ।बैठकमा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले औंलो जस्तो रोग निवारणमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेकाले यसमा जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । विगतमा गाउँ गाउँमा खटिने कर्मचारी, मलेरिया इन्स्पेक्टर लगायतको पद खारेज भइसकेकाले अव ल्याबका कर्मचारीहरुले नै आंैलो जाँचमा तदारुकता देखाउनुपर्ने धारणा उनको थियो ।