वासिङ्टन– अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट आयात हुने सबै वस्तुमा ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। उनले यो कदम ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्जोनारोलाई राजनीतिक प्रतिशोधस्वरूप दुःख दिइएको आरोप लगाउँदै चालेका हुन्।

ट्रम्पले ब्राजिलका हालका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई कडा शब्दमा पत्र लेख्दै बोल्जोनारोमाथि भइरहेको न्यायिक कारबाहीको विरोध गरेका छन्। उनले लुला सरकारमाथि बोल्जोनारोको अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गरेको र "स्वतन्त्र निर्वाचनमाथि आक्रमण" गरेको आरोप लगाएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भन्सार वृद्धि अगस्ट १ देखि लागू हुने जानकारी दिए। साथै उनले यो दर अझै कडा बनाउन सकिने संकेतसमेत गरेका छन्।

राष्ट्रपति लुलाले ट्रम्पका दाबीहरू अस्वीकार गर्दै अमेरिकाले ब्राजिलको सार्वभौमिकतालाई सम्मान गर्नुपर्ने बताएका छन्। उनले ट्रम्पको निर्णयलाई "अन्यायपूर्ण हस्तक्षेप" भनेका छन्। साथै ब्राजिल सरकारले अमेरिकी राजदूत गेब्रियल एस्कोबारलाई तलबार्ताका लागि दुईपटक बोलाएको छ र अमेरिकी सामानमा पनि समान भन्सार लगाउने चेतावनी दिएको छ।

यस विवादको पृष्ठभूमिमा, सन् २०२२ को राष्ट्रपति निर्वाचनमा लुलाले बोल्जोनारोलाई झिनो अन्तरले हराएका थिए। हार नमान्ने बोल्जोनारोका समर्थकहरूले २०२३ जनवरीमा ब्राजिलको संसद, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा आक्रमण गरेका थिए। त्यसपछि बोल्जोनारोमाथि "राज्य कब्जाको षड्यन्त्र" को आरोप लगाउँदै ब्राजिलको सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो।

ट्रम्पले यस मुद्दालाई अमेरिकी राजनीति सँग तुलना गर्दै बोलेका छन्, "बोल्जोनारोलाई राजनीतिक रूपमा समाप्त गर्न खोजिँदैछ। उनी लोकप्रिय छन्, त्यसैले दु:ख दिइँदैछ।"

हालै ट्रम्पको मिडिया कम्पनीले ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे दे मोराएसविरुद्ध मुद्दा पनि दायर गरेको छ। ती न्यायाधीश नै बोल्जोनारोको मुद्दा हेरिरहेका छन्।

यद्यपि ट्रम्पले अमेरिका–ब्राजिल व्यापार असमान रहेको दाबी गरे पनि अमेरिकी व्यापार कार्यालयका अनुसार सन् २०२४ मा अमेरिकाले ब्राजिलसँग ७.४ अर्ब डलरको व्यापार लाभ गरेको थियो।