काठमाडौँ – नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल डिलिट भएको पाइएको छ । बारम्बार कपीराइट अर्थात् प्रतिलिपि अधिकार उल्लङ्घन गरेपछि लाखौँ सब्सक्राइबर भएको युट्युब च्यानल टर्मिनेट (हटेको) भएको हो ।
हाल नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्था अन्तर्गत सञ्चालित छ । जसको मुख्य युट्युब च्यानल प्रादेशिक च्यानलले समेत प्रयोग गर्दै आइरहेका छन् । यसै क्रममा कोहलपुर प्रसारणका कर्मचारीले राखेको भिडिओका कारण युट्युब च्यानल डिलिट भएको बताइएको छ ।
८ लाखभन्दा बढी सब्सक्राइबर रहेको नेपाल टेलिभिजनको मुख्य युट्युब च्यानलमा ८ हजार ४०० भन्दा बढी भिडिओ अपलोड गरिएका थिए । ती सबै भिडिओ समेत च्यानलसँगै गायब भएका छन् । पुरानो युट्युब च्यानल डिलिट भएपछि मार्चदेखि सोही नाममा नयाँ युट्युब च्यानल खोलिएको छ ।
संस्थाका अध्यक्ष महेन्द्र विष्टले कोहलपुर प्रसारणबाट भुलवश अल जजिराको भिडिओ अपलोड भएको र त्यसैमा कपीराइट लागेको बताए । अल जजिरा कतारको न्युज टेलिभिजन नेटवर्क हो, जुन मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा ठुलो न्युज नेटवर्क मानिन्छ ।
नेपाल टेलिभिजनको डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारी प्राप्त डीजीएम चिन्तामणि बरालले युट्युब च्यानल फिर्ता ल्याउने प्रयासमा अल जजिराले नै समस्या खडा गरेको दाबी गरे । “यसका लागि हामीले सञ्चार मन्त्रालयबाट परराष्ट्र मन्त्रालय, कतारको दोहा स्थित राजदूत मार्फत अल जजिरालाई पत्राचार गरेका थियौँ,” उनले भने, “तर पनि उसले अझै खोलिदिएको छैन ।”
कोहलपुर स्टेसनले छुट्टै समाचार सामग्री तयार पारेको नभई टेलिभिजनमा प्रसारण भएको भिडिओ सामग्रीलाई नै युट्युब च्यानलमा राखेको बरालले बताए । “त्यस दिन अल जजिराबाट लिइएका ३ ओटा भिडिओ कन्टेन्ट हाम्रो युट्युब च्यानलमा अपलोड भएका रहेछन् । टेलिभिजनमा जे गयो, त्यही नै युट्युबमा पनि अपलोड भयो । त्यसपछि उनीहरू (अल जजिरा) ले युट्युबलाई कम्प्लेन गरेपछि हाम्रो च्यानलमा समस्या आयो,” उनले भने ।
च्यानल डिलिट हुनु अघि कुनै वार्निङ समेत नदिइएको दाबी गर्दै बरालले सरकार मार्फत जाँदा पनि अल जजिराले प्रतिक्रिया नदिएको सुनाए । तर युट्युबसँग भने अहिलेसम्म कुनै पनि कुराकानी नभएको उनको भनाई छ ।
नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल बन्द भएको केही महिनापछि मात्र बराल डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारीमा आएका हुन् । त्यसो त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीबाट भिडिओ सामग्री खरिद गर्न नेपाल टेलिभिजनका लागि सरकारबाटै बजेट आउँछ । तर आधिकारिक तवरमा न्युज एजेन्सी मार्फत नभई लापरवाहीपूर्वक अन्य माध्यमबाट विदेशी सञ्चार माध्यमका भिडिओ सामग्री प्रयोग गर्दा युट्युब च्यानल नै डिलिट हुन पुगेको हो ।
तर युट्युबले च्यानल डिलिट गर्नु अघि वार्निङ नै नदिने भन्ने चाहिँ हुँदैन । यहाँनिर कपीराइट उल्लङ्घनमा कसरी युट्युब च्यानल डिलिट हुन सक्छ भन्ने बारेमा बुझ्नुपर्ने हुन्छ ।