महेन्द्रनगर  ।  कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन्। उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन्। विगतका वर्षमा  नोभेम्बरको अन्तिम हप्तामै पुग्ने कलहाँस योवर्ष भने ढिलो गरी  ताल क्षेत्रमा आइपुगेका  छन ।

चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको बथान यहाँ आइपुगेका हुन । तालमा यसअघिनै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन्। 

OM Sai Pathibhara Hospital

घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ। यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ। सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुन्दर पन्छीका रूपमा गनिन्छ । 

सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरो हुन्छन्। माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ। ‘कलहाँस ताल क्षेत्रमा पुगेपछि रौनक छाएको छ’, चरा संरक्षणकर्मी सुवन चौधरीले भने, ‘यस पन्छीले लस्करै जलविहार गरेको दृश्य मनमोहक हुन्छ।’ 

उनका अनुसार कलहाँसले आहारका रूपमा सीमसार क्षेत्रमा उपलब्ध हुने घाँसलाई पूरै जरासहित खाने गर्दछन्। प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोर्लने गर्दछ। शिकारका लागि ताल क्षेत्रमा विषादी राखेर मार्ने गरिएकाले यसको सङ्ख्या भने घट्दो छ। साइबेरिया, युरोपलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी शुरु हुनअगावै पुरानै ठाउँमा फर्किने गर्छन्।

चिसो छल्न र जलविहारका लागि मात्रै प्रवासी पन्छी यहाँ आउने गरेका छन्। प्रजननको समय शुरु हुनअगावै फर्किने गरेका छन्। जल पन्छीका लागि आश्रयस्थलका रुपमा रहेका तालतलैया र सिमसर क्षेत्रलाई संरक्षण गर्नुपर्ने चराविज्ञ हिरुलाल डगौरा बताउछन । 

‘सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पन्छी आउने क्रममा केही वर्षदेखि कमी देखिएको छ’, उनले भने , ‘जल पन्छीको जलविहार गर्ने जलाधार क्षेत्रलाई संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ, सिमसार क्षेत्रलाई चरा पर्यटनका रूपमा विकास गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो देखाउनु आवश्यक छ ।’