काठमाडौं — गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि आफैंसँग राख्ने निर्णय गरेका छन्।

बुधबार गुरुङको राजीनामासँगै नयाँ गृहमन्त्री तत्काल नियुक्त नगर्ने तय भएको हो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि विवाद बढेको थियो। साथै, जेनजी आन्दोलनपछि उनले ५० लाख रुपैयाँ बराबरको शेयर खरिद गरेको तथ्य बाहिर आएको थियो।

यस प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र बाहिरबाट गुरुङमाथि दबाब बढेको थियो भने विपक्षी दलहरूले समेत उनको राजीनामाको माग गरेका थिए।

गृहमन्त्री सुधन गुरुङको राजीनामालगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुरक्षा संठगन प्रमुखहरूलाई सिंहदबार बोलाएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् ।

मन्त्रीपदबाट राजीनामा दिनुअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सुधन गुरुङबीच पनि भेट भएको थियो ।राजीनामालगत्तै प्रधानमन्त्री बालेनले पनि सुरक्षा संगठन प्रमुखहरूलाई भेटका लागि सिंहदबार बोलाएका हुन् ।