जाडो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखिने गर्छन् । प्रेसर बढ्ने, हृदयाघात हुने, मानसिक समस्या, चिसो कठेङरियर हाइपोथमिया हुनेजस्ता स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी समस्या र सङ्क्रामक रोगले बढी दुःख दिने गर्छ । सरुवा रोगमा घाँटी बस्ने, घाँटी दुख्ने, नोरा भाइरसको कारणले गर्दा कोल्ड डाइरियाजस्ता स्वास्थ्य समस्या देखिने चिकित्सक बताउँछन् ।
सरुवा रोग विशेषज्ञ डा. मिलन बज्राचार्यले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाडो मौसममा नोरा भाइरसका कारण कोल्ड डाइरिया, इन्फिल्यून्जाका कारण रुघाखोकी, घाँटी दुख्ने, टन्सिल, निमोनियाजस्ता स्वास्थ्य समस्या लिएर अस्पतालमा बढी देखिने गरेको बताए ।
उनले भने, “मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी र भाइरल जन्य समस्याले निकै दुख दिने गरेको पाइन्छ । जाडोमा नोरा भाइरसका कारणले हुने कोल्ड डाइरिया, मौसमी फ्लुका कारणले गर्दा रुघाखोकी, घाँटी दुख्ने, टन्सिल, निमोनिया हुने जस्ता स्वास्थ्य समस्या देखिने गर्छन् ।”
डा. बज्राचार्यका अनुसार यो मौसममा झ्याल ढोका थुनेर गुम्म भएर बस्दा सङ्क्रमण फैलिने, सरसफाइमा ध्यान नदिँदा सरुवा रोग फैलिने सम्भावना हुन्छ । उनका अनुसार तातो मौसममा धेरै बसिरहेको बेलामा एक्कासि चिसो मौसममा जाँदा पनि घाँटी दुख्ने, घाँटी खसखस गर्नेजस्ता स्वास्थ्य समस्या निम्तिने गर्छन् ।
यस्तो स्वास्थ्य समस्या सबै उमेर समूहका मानिसलाई देखिए पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका, एचआइभीका बिरामी, गर्भवती, क्यान्सरका बिरामी, लामो समयसम्म औषधीको सेवन गर्ने मानिसलाई बढी दुःख दिने गर्छ ।
सङ्क्रमित भएमा बिरामीमा कडा खालका लक्षण देखिएमा ब्याक्टेरियाबाट सङ्क्रमित भई निमोनिया हुने सम्भावना बढ्छ । सोही कारणले कहिलेकाहीँ फोक्सोमा सङ्क्रमण गरेर फोक्सोले नै काम नगरेर आइसियूमा उपचार आवश्यक पर्छ ।
जाडोमा दमको समस्या पनि बढी दुःख दिने गर्छ । चिसो हावाका कारणले गर्दा दमले दुःख दिने उनले बताए । यस्ता स्वास्थ्य समस्याबाट बच्न न्यानो भएर बस्न उनको सुझाव छ । मौसमी रुघाखोकी लाग्नासाथ जथाभाबी एन्टिबायोटिक औषधी प्रयोग नगर्न पनि डा. बज्राचार्यको सुझाएका छन् ।
उनका अनुसार मौसमी फ्लुलाई लक्षणका आधारमा उपचार गरी निको बनाउन सकिन्छ । मौसमी फ्लु भएको बेलामा कुनै गाह्रो नभएमा घरेलु उपचार गर्नुपर्ने सुझाव उनको छ । उनले भने, ‘नुन पानीले घाँटी कुल कुल गर्ने, प्रशस्तमात्रामा तातो पानी खाने, ज्वरो आएमा सिटामोलको प्रयोग गर्ने, खोकीको लागि मह, कागती, अदुवा तातो पानीमा राखेर पिउन सकिन्छ ।’
कुनै जटिल स्वास्थ्य समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन उनले सुझाएका छन् । जाडो महिनामा न्यानो रहने तातो खानेकुरा खाने गर्नुपर्छ । जोखिम समूहका मानिसले इन्फिल्युन्जा विरुद्धको खोप लगाउन उनले सुझाएका छन् । जोखिम समूहले यसबाट बच्ने उपाय नपाउने हो भने रुघाखोकी बिग्रिएर निमोनिया हुनबाट बचाउने गर्छ । जाडोमा प्रशस्त तातो पानी पिउन तातो खानेकुरा खाना र सरसफाइमा ध्यान दिन डा बज्राचार्यले आग्रह गरे । उनले मास्क लगाउन अनुरोध गर्दै सङ्क्रमितले मास्क लगाएमा धेरै जनामा सङ्क्रमण नफैलिने बताए ।
त्यसका अलावा यस्ता स्वास्थ्य समस्या हुन नदिन घाँटी टाउको छोप्नेगरी न्यानो कपडा लगाउने, तातो भएर बस्ने । तातोमा बस्दाबस्दै चिसो मौसममा नजान सबैलाई सुझाएका छन् ।