प्रहरी चेकिङ । त्यो पनि साँझको समयमा । धेरै चालकलाई  लाग्दो हो, यो प्रहरीले अनावश्यक दु:ख दिन । चालकलाई अफ्ठ्यारोमा पार्न अनि अनावश्यक तनाव दिन भन्ने बुझाइ धेरैको छ । त्यसमा पनि प्रहरीको चेकिङका क्रममा भएका भनाभनले अन्यलाई यस्तो आभाष हुनु पनि स्वभाविक नै हो । तर यो स्तम्भकारका लागि भने हिजो २०८१ असोज १ गते मंगलबारको साँझ अविश्मरणीय रह्यो । 

तीनकुने कार्यालयबाट गौशाला जानेक्रममा हामी तीनकुने-नयाँ बानेश्वर-पुरानो बानेश्वर हुँदै जाँदा पुरानो बानेश्वर चोक कट्नेबित्तिकै बत्तीसपुतली क्षेत्रमा प्रहरीको चेकिङ चलिरहेको थियो । 

OM Sai Pathibhara Hospital

त्यसठाउँमा केही बाइकलाई साइड लगाएर रोकिएको थिए । एक प्रहरीले 'यहाँ प्रहरी चेकिङ भइरहेको छ', भनेर राखिएको बोर्ड नजिकै रेड लाइट देखाएर दुई पांग्रे सवारी (बाइक, स्कूटर) रोकिरहेका थिए । सँगै रहेका अर्काले सवारी चालकलाई कहाँबाट आउनुभयो ? कहाँसम्म जाने ? कागजपत्र बोक्नुभएको छ कि छैनलगायतका प्रश्न सोधिरहेका थिए । अनि उनले भने अनुसार भए सवारीलाई अघि बढ्न भन्ने र नभए साइडमा रोक्न लगाएर अरु प्रहरी अधिकारीलाई थप सोधपुछका लागि पठाउने गर्थे । 

अर्का प्रहरी अधिकारीले भने  रेकर्ड फाइलमा सवारी साधन, सवारी धनी र सवारी चालकको सम्पर्क नम्बरलगायतका विवरण टिप्दै थिए । यो दृश्य हामी सवार बाइकलाई रोक्नेबित्तिकै देखियो । 

प्रहरीले बाइक रोक्ने इसारा गर्ने बित्तिकै मैले पनि मेरो गोजी छामे । जहाँ मैले वीनसिटरको खल्तीमा ब्लूबुक तथा पर्समा लाइसेन्स बोक्ने गरेको छु । वीन सीटर र पाइन्ट दुवैमा सामग्री छ भन्ने थाहा भएपछि ढुक्कले म अगाडि बढेँ । बाइकमा हामी दुई जना सवार थियौँ । 

त्यतिकैमा एक प्रहरी अधिकारीले सोधे 'सरहरू कहाँसम्म पुग्ने ?'  हामीले दुई गन्तव्यका साथी छौँ । म गौशाला जाने हो । अनि मेरो साथी महाराजगञ्ज पुग्ने हो । उहाँ गौशालाबाट गाडी चढ्नुहुन्छ । अनि उनले फेरि अर्को प्रश्न गरे आउनुभएको कहाँदेखि ? हामी सँगै काम गर्ने भनेर मैले नै उत्तर दिए । हाम्रो अफिस तीनकुनेमा छ । अफिसबाट अब घर हिँडेको । उनले ठिक छ भन्दै बाइक केही अघि बढाउन इसारा गरे । उनी हामीसँगै केही अगाडि अरुलाई असर नहुने गरी बाइक रोक्न लगाए । 

मेरो बाइक स्टार्टमै थियो । केही पुरानो बाइक भएकाले त्यसको लाइट मलाई बाटामा हिँड्दा पुग्दैन भन्ने ख्याल गर्दै मैले 'ड्रिम' नगरी राखेको थिएँ । उनले बाइकलाई सरसर्ती नियाले, मलाई हेरे । अनि मेरो पछाडि भएको साथीलाई पनि । अनि भने, 'तपाईंहरूलाई देख्दा मलाई लाग्छ, हजुरहरू यो समाजको विद्वत वर्ग जस्तो । म गलत त छैन नि !' मैले टाउको हल्लाएँ । 

फेरि उनी बोल्दै गए । मैले तपाईंको बाइक किन रोकेँ होला जस्तो लाग्छ ? हामी दुवैलाई उत्तर भन्ने गरी प्रश्न सोधे । अनि भने तपाईंहरूले एकै पटकमा मिलाउनुपर्छ भन्ने पनि छैन । तपाईंहरू र हामी प्रहरीको सोच मिल्दो रहेछ कि रहेनछ भनेर जान्नमात्र खोजेको हो भने । 

त्यसपछि मैले कागजपत्र चेकजाँच होकि भनेँ । उनले होइन भने, नक्कली लाइसेन्सको प्रकरण सुनेको छु, त्यही होकि भनेको त्यो पनि होइन भने । बाइकको कन्डिसनबारे वा कुनै आपराधिक घटनाको सूचना पाएर पो होकि भने त्यो पनि होइन् भने । अनि मैले अब तपाईं नै भन्नुहोस् हामीलाई किन रोक्नुभएको भन्ने प्रश्न गरेँ । 

उनले हाँस्दै भने, 'होइन अरु दुई/चार पटक भन्नुहोस् न मिल्छ कि । अनि मैले सोधेको प्रश्न फेरि मलाई नै कहाँ सोध्न पाइन्छ र ?' यसपछि उनले मलाई फेरि भने 'तपाईंले लाइसेन्स लिनुभएको कति भयो ?' मैले जवाफ दिएँ, 'ठ्याक्कै मिति त थाहा छैन । तर मैले एक पटक रिन्यू गरिसकेँ । छ/सात वर्ष त भयो ।'

उनले फेरि मतिर हेरेर हल्का मुस्कानसहित भने, 'तपाईंले लाइसेन्स लिएको यत्तिका समय भइसकेछ । बाइक रोक्दा के गर्नुपर्छ भन्ने चाहिँ अझै ख्याल गर्नुभएको रहेनछ होइन् ?' म झसंग भएँ । यत्ताउत्ता हेरेँ । अनि देखेँ मैले बाइकको लाइट ड्रिम नै गरेको रहेनछु । अनि बाइकको लाइट ड्रिम गरेँ । अनि भने, 'सरी सर । मैले यो ख्याल गरिनछु । लाइटसँग जोडिएको सबै नियम आजै र अहिल्यैदेखि पालन गर्छु ।' सँगै उनलाई म तपाईंसँगको यो कुराकानीका बारेमा केही लेखेर पोस्ट गर्छु र अरु चालकलाई पनि मेरो अनुभव सुनाएर सामान्य अवस्थाको ख्याल नगर्दा पार्ने असर र त्यसको प्रभावका बारेमा सकेको सचेत गराउँछु भनेँ । 

उनले खुसी हुँदै तपाईंले पालना त गर्नुहोला । ठिक छ । तर तपाईंले लेख्नु भएको कुरा मैले कसरी थाहा पाउने ? भन्दै प्रश्न गरे । त्यसपछि मैले उनको परिचय सोधेँ । उनले भने, 'मेरो परिचयतिर नजाऔँ । म नेपाल प्रहरीबाट तपाईंहरूको सेवामा खटिएको एक कर्मचारी हो । मात्र तपाईंहरूले थोरै ख्याल गरिदिनुभयो भने तपाईंका लागि र हाम्रा लागि पनि सजिलो हुन्छ ।' उनको कुरा मलाई सारै चित्त बुझ्यो । मैले उनको बर्दीमा लेखिएको नाम पढेँ । तर उनकै अनुरोधमा नाम यहाँ लेखिँन । मोबाइलबाट तपाईंले दिन खोजेको सन्देश खिच्छु न भन्दा मानेन् । त्यो पर्दैन भने । तर लेख लेख्ने हुँदा एक शीर्षक सुझाए । अनि उनैले सुझाएको शीर्षकमा यो लेख लेखेँ । उनले भने, 'मेरो नाम गौण कुरा हो । नियम पालना हुनु र धेरै जना सचेत हुनु ठूलो कुरा हो । यदी तपाईंले हाम्रो कुराकानीलाई लेख नै बनाउनुहुन्छ भने 'सानो कुरा ख्याल नगर्दा...' भन्ने शीर्षकमा लेख्दा पनि होला नि ।' उनैले सुझाएको शीर्षकमा यो लेखेँ । 

यो कुरा गर्दा मैले उनलाई मैले भनेँ, 'म नेपाल प्रहरीको फेसबुक पेजमा ट्याग गर्छु । तपाईंलाई पनि खोजेर ट्याग गर्न मिल्ने भए गर्छु ।' उनले प्रहरीको पेजमा ट्याग गर्न भन्दै आफूले त्यहीबाट हेर्ने भने । मलाई यो विषय कहाँ लेखौँ भइरहेको थियो । गुप्तचर खबरमा लेखेँ । 

ती प्रहरी अधिकारीसँग यत्ति राम्रो भलाकुलारी भयो कि मैले धेरै बेर उनलाई सम्झिरहेँ । अनि सम्झेँ सबै क्षेत्रमा काम गर्ने व्यक्ति यस्तै सुझबुझ पूर्ण रुपले प्रस्तुत भयोभने काम कति सहज होला । अनि कमिकमजोरी सच्याउन पनि कति सहज होला जस्तो लागिरहेको छ । 

उनले कुराकानीका क्रममा भनेका थिए, 'हाम्रो टोली यहाँ बसेको करिव तीन घण्टा भयो । यहाँ प्रत्येक मिनेट १० वटा दुई पाङ्ग्रे सवारी गुड्दा रहेछन् । तपाईं आफैँ हिसाब गर्नुहोस् । तीन घण्टाको अवधिमा कति गुडे होला ?' उनलाई मैले भने एक घण्टामा ६०० अनि तीन घण्टामा १८०० भनेँ । उनले हो भने । 'अब त्यसमध्ये केहीले मात्र लाइट ड्रिम गरेको पाएँ । अधिकांशले गर्दैनन् । तपाईंहरूलाई सामान्य लाग्ला हाम्रो ठाउँमा उभिएर हेर्नुहोस् त । आँखा केही देखिँदैन । कुन बाइक आयो थाहा हुँदैन्,' उनी भन्दै गए, 'तपाईंको त बाइक अलि पुरानो रहेछ । यसको लाइट ड्रिम नगर्दा पनि ड्रिम गरेझैँ लाग्ने खालको अहिलेका नयाँ बाइकको लाइटले त आँखा पनि खान्छ, टाउको पनि फुट्ने गरी दुख्छ ।' काठमाडौं उपत्यकामा ड्रिम लाइटमै हिँडे हुने कुरा पनि उनले सुनाए ।

मैले फेरि पनि ट्राफिक नियमका सबै नियमलाई इमान्दारिताका साथ पालना गर्ने प्रतिवद्धता जनाउँदै लाइटसँग जोडिएका सबै नियम पूर्ण पालना गर्ने बताउँदा उनले हामीबीचको यो १०/१५ मिनेटको कुराकानी फलदायी भयो भन्ने सम्झौँ होइन् भन्दै हामीलाई ट्राफिक नियमको पालना प्रहरीको लागि नभई सवारी चालकको लागि भएको कुरा पटक पटक स्मरण गराए । 

नाम सार्वजनिक गर्न नचाहने प्रहरी अधिकारीको त्यो सुझबुझसहितको प्रहरी चेकिङले दिएको सकारात्मक सन्देश तपाईंमाझ पुर्‍याउन तीनै प्रहरी अधिकारीलाई यो लेख समर्पित गरेको छु । आशा छ नेपाल प्रहरीको फेसबुक फेजमा ट्याग भएको यो लेख ती प्रहरी अधिकारीसम्म पुगोस् । 

[नोट: हिजो असोज १ गते मंगलबार साँझ बत्तिसपुतली क्षेत्रमा भएको तस्बिर नखिचिएकाले फाइल तस्बिर प्रयोग गरिएको छ।]