काठमाडौं–धर्मशास्त्रीय दृष्टिकोणले हरितालिका तीज व्रत महिला र पुरुष दुवैले गर्नुपर्ने भए तापनि समाजमा यो पर्व महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि मात्र गर्नुपर्छ भन्ने बुझाइ व्याप्त छ । व्रत गर्ने पुरुष विधुर हुनु नपर्ने‚ नारीले अटल सौभाग्य प्राप्त गर्ने‚ र अविवाहितहरू गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन छ ।

आज भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज पर्व भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ । शिव पार्वतीको पूजा‚ उपासना गर्दा पारिवारिक सुख‚ शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक मान्यता छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन गौरीघाटमा तपस्या गरेको कथन छ । तपस्याको परिणामस्वरूप पार्वतीले महादेवलाई पति रूपमा पाएकोले यो व्रतको प्रचलन सुरु भएको हो । 

OM Sai Pathibhara Hospital

‘हरितालिका’ शब्द ‘हरित’ अर्थात् हरण गरिएको र ‘आलिका’ अर्थात् साथी भन्ने दुई शब्द मिलेर बनेको हो । पार्वतीलाई साथीहरुले हरण गरी लुकाएर राखेपछि उहाँले महादेवलाई प्राप्त गर्न व्रत बस्नुभएकोले यो पर्वको महत्व आजसम्म कायम छ। 

तीजमा निराहार‚ जलाहार‚ र फलाहार। स्वास्थ्य ठीक नभएकाहरूले फलाहार गरेर पनि व्रत गर्न सक्छन् । व्रत केवल श्रीमानको दीर्घायुको लागि मात्र होइन‚ असल वर वा वधु प्राप्त गर्न‚ सन्तान प्राप्तिका लागि पनि बसिन्छ ।

यस पर्वले नारीलाई मात्र नभएर पुरुषलाई पनि व्रत बस्न प्रोत्साहित गर्छ । धर्मशास्त्रविद्हरुका अनुसार‚ यो पर्व विभेदकारी परम्पराभन्दा पनि परिवारको समग्र कल्याणमा समर्पित छ । व्रत सकाम‚ निष्काम‚ नित्य‚ नैमित्तिक‚ र काम्य गरी पाँच किसिम हुन्छन् । 

व्रत सक्ने नीराहार बस्ने भएकाले व्रतालुहरूले बिहीबार दर खाई आजको व्रतको तयारी गर्छन् । यो पर्व तृतीयाका दिनबाट सुरु भई ऋषि पञ्चमीमा समापन हुन्छ । तीजमा आज बिहानैदेखि पशुपतिसहित देशभरका शिव मन्दिरमा भक्तजनको भिड लागेको छ ।