काठमाडौं– तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा हिजो भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गरेका छन् । 

हिजो भारतीय पर्यटक सवार बस मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाईतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

OM Sai Pathibhara Hospital

बस दुर्घटनामा परी घाइते भएका आफ्ना नागरिकलाई भेट्न नेपाल आएकी राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरुको अवस्था बुझ्ने क्रममा भेट गरेका थिए । 

सो क्रममा गृहमन्त्री लेखकले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले तत्काल उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताए थिए । 

राज्यमन्त्री खडसे पनि छिटो उद्धार गरेर केही नागरिकको ज्यान सफल भएको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिएकी थिए । 

गृहमन्त्री लेखकले बिरामीहरुको उपचार राम्रोसँग भईरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको बताए । उनले त्यही क्रममा राज्यमन्त्री खडसेसँग मृतकहरुको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको जानकारी दिए ।