सिरहा- नागरिकता र जमिन माग्दै तराईका दलित मुसहर समुदायले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।
सिरहाको लहान नगरपालिकाको सभाकक्षमा आज आयोजित एक कार्यक्रमबीच ‘सवरी सङ्कल्प समाज’ नामक गैरसरकारी संस्थाका अगुवाले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मुसहर समुदायले नागरिकता सम्बन्धी समस्या तत्काल समाधान गर्न ज्ञापनपत्र मार्फत माग गरेका छन् ।
उक्त ज्ञापनपत्रमा मुसहर समुदायलाई नेपालका आदिवासी घोषित गर्नुपर्ने, वङ्शजका आधारमा नेपाली नागरिकता दिनुपर्ने, मुसहर समुदायका भूमिहीन सुकुम्वासीलाई खेतीयोग्य जमिन र घरबासको व्यवस्था गर्नुपर्ने लगायतको पाँच बुँदे माग समावेश छन् ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले मुसहर समुदायको समस्यालाई गम्भीरतापूर्वक अध्ययन गर्ने र समस्या समाधानका लागि पहल गर्ने बताए ।
उनले भने, ‘तपाईँहरूको समस्याप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो तपाईँहरूको मात्र नभएर राज्यकै समस्या भएकाले यसको समाधान गर्न उचित कदम चालिने छ ।’
अधिकारकर्मी अरुण सदायले ज्ञापनपत्र बुझाउँदै मुसहर समुदाय पछाडि पर्नुमा राज्यको विभेदकारी नीति र अन्यायपूणर् सामाजिक आर्थिक संरचना नै मुख्य कारक रहेको बताए ।
साथै उनले दलित समुदायभित्रको अति सीमान्तकृत समुदायको रूपमा रहेको मुसहर जातिको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक उत्थान नभएसम्म समृद्ध राष्ट्रको कल्पना गर्न नसकिने बताए ।
मधेश प्रदेशमा मुसहर समुदायको सङ्ख्या दुई लाख ४७ हजार पाँच सय ५५ रहेको तथ्याङ्क छ । अधिकांश मुसहर समुदायका नागरिक नागरिकताविहीन छन् ।