काठमाडौं- तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर पठाएको छ । 

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीका अनुसार मेडिकल टीमसहितको सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको छ । 

OM Sai Pathibhara Hospital

गभीर घाइतेहरुलाई हेलिकप्टर माफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उनले बताए ।

आज बिहान पोखराबाट काठमाडौैंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । 

सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायका अनुसार बसमा ४१ यात्रु र २ जना स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको खुलेको छ ।

दुर्घटनामा परेको यात्रुबाहक बस भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।