काठमाडौं- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भारतीय यात्रु सवार बस मस्र्याङ्दी नदीमा खसेको हो । 

दुर्घटनास्थलबाट हालसम्म १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । थप १६ जना घाइतेको उद्धार गरिएको छ । 

OM Sai Pathibhara Hospital

आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । 

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ । बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।

 तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।

घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।