काठमाडौं—  हमासका नेता इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव बढेको छ। इजरायलले इरानमा आफ्ना जासुस पठाएर हमास नेता स्माइलको हत्या गरेपछि इरानले इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छ।

इरानको धम्कीपछि अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेका छन्। मध्यपूर्वमा बढ्दै गएको तनाव र यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको निगरानी विश्वले गरिरहेको छ।

OM Sai Pathibhara Hospital

इजलायल, लेबनान र सिरियाको सिमानामा तैनाथ राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि खटिएका शान्ति सेनामाथि सुरक्षा खतरा बढेको छ। नेपाललगायत विश्वका एक दर्जनभन्दा बढी देशका शान्ति सैनिक अहिले इजरायल, लेबनान र सिरियाका सीमा क्षेत्र गोलान हाइटमा तैनाथ छन्।

सो क्षेत्रमा नेपालबाट झन्डै १ हजार ३ सय नेपाली सेना शान्ति सैनिकका रूपमा कार्यरत छन् । उनीहरूको अवस्था अहिलेसम्म ठिकै रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए । 

मध्यपूर्वको घटनालाई नेपाली सेनाले नजिकबाट हेरिरहेको बताउँदै उनले राष्ट्रसंघको मुख्यालयले पनि अझै नजिकबाट हेरिरहेको बताए । 

अमेरिकाले भने जतिसक्दो चाँडो लेबनान छाड्न आफ्नो देशका नागरिकलाई आग्रह गरेको छ । 

इरानले इजरायलमाथि धावा बोलेपछि अमेरिकाले एसिया प्यासिफिक क्षेत्रमा रहेको आफ्नो चौथो मरिन फोर्सलाई युद्धपोतदेखि लडाकु विमानहरू इजरायलको सीमा क्षेत्रतर्फ अघि बढ्न निर्देशन दिएको छ। यता बेलायती विदेशमन्त्री डेभिड ल्यामीले पनि उक्त क्षेत्रमा द्वन्द्व बढ्न सक्ने भएकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेका छन्।

विश्वभरका दुई दर्जनभन्दा बढी देशले लेबनानमा रहेका आफ्ना नागरिकलाई जति सक्दो चाँडो देश छोड्न आग्रह गरिरहेको भिडियो सन्देश सार्वजनिक भएको छ। 

मध्यपूर्वको अवस्था नाजुक बन्दै गएपछि विश्वका विभिन्न देशले इजरायल, लेबनान, सिरियामा नियमित रूपमा हुँदै आएको हवाई उडान रोकेका छन्। इजरायल, लेबनानलगायतका देशमा हुँदै आएको हवाई सेवा स्थगित भएपछि इजरायल र लेबनान छोड्न चाहने विदेशी नागरिकहरू अलपत्र परेका छन्।