काठमाडौं— त्रिभुवन विमानस्थल परिसरमा गत साता दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजको ‘ब्ल्याक बक्स’ परीक्षणको लागि सिंगापुर पठाइएको छ।

गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ परीक्षणको लागि ‘जहाज दुर्घटना छानबिन आयोग’का संयोजक रतिशचन्द्रलाल सुमन सिंगापुर गएका हुन्।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्समा हुने ककपिटको भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफडीआर) अध्ययनको लागि संयोजक सुमन सिंगापुर गएका हुन्।

दुर्घटनाको सम्बन्धमा विस्तृत जाँच गरी त्यसको कारण पहिचान गरेर आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न गैरसैनिक हवाई उडान, २०७१ को नियम १० बमोजिम रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय जहाज दुर्घटना आयोग गठन गर्ने निर्णय भएको थियो। आयोगमा रतिशचन्द्रलाल सुमन संयोजक तथा सदस्यमा क्याप्टेन दीपुराज ज्वारचन, डा. दीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल रहेका छन्।

गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही सेकेन्डमै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा परी जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो।

यसै क्रममा विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जना नेपालीको शव आफन्तले बुझिसकेका छन्। नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १७ जनाको गत शनिबार साँझसम्म आफन्तले शव बुझिसकेका हुन्।

जहाज कम्प्रिहेन्सिप चेक (सी–चेक)को लागि पोखरा जाँदै गरेको थियो। हरेक जहाजले प्रत्येक दुई वर्षमा सी–चेक गर्नुपर्छ। त्यसको लागि एयरक्रफ्टको मेन्टिनेन्स प्रोगाम (एएमपी) हुन्छ। यसका लागि सम्बन्धित एयरलाइन्सले आफ्नो व्यवस्थापन र प्राधिकरणलाई पनि स्वीकृत लिनुपर्छ। 

सौर्यको जहाजले एएमपी लिई मर्मतका लागि पोखरातर्फ उडेको केही समयमै विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो।