काठमाडौं–कर्णाली प्रदेश सरकारमा जाने मन्त्रीहरूको नियुक्ति र शपथ आज गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री यामलाल कँडेल सोमबार विश्वासको मत लिने तयारीमा छन् । त्यसैले शुक्रबारदेखि रोकिएको मन्त्रीहरूको नियुक्ति तथा शपथ आज हुने श्रोतको दाबी छ ।

OM Sai Pathibhara Hospital

कांग्रेसले राजीव विक्रम शाहलाई आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी, सामाजिक विकास, सुरेश अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण र विजया बुढालाई जलस्रोत तथा उर्जा विकास मन्त्री बनाएर मुख्यमन्त्रीकहाँ पठाएको थियो ।

गत २७ चैतमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल संविधानको धारा १६८ को उपधारा २ अनुसार नेकपा माओवादी केन्द्रसहित दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए । माओवादीले यहीँ साउन ६ मा आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको थियो ।

अब कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मतका लागि सो प्रस्ताव साउन २१ गते प्रदेशसभा सचिवालयमा राखिने व्यवस्था गरिएको मुख्यमन्त्री कँडेलले जानकारी गराए ।  

कर्णाली प्रदेशसभामा कुल ४० सदस्य रहेका छन्। यसमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक–एक सदस्य रहेका छन्।