काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । 

प्रधानमन्त्री ओलीले हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वमा प्रचार गर्न यो रियालिटी सोले थप मद्दत पुर्याउने उल्लेख गरे । उनले नेपालको सुन्दर प्रकृति अवलोकन नगरे जीवनको सार्थक अर्थ नहुने बताए । हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ती चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको उनले भनाइ थियो ।

OM Sai Pathibhara Hospital

लुक्ला विमानस्थललाई खतरायुक्त भनेर प्रस्तुत गरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विश्वका सबै विमानस्थल एक प्रकारले खतराकै स्थितिमा हुने तर्क राखे । ओलीले नेपालमा सगरमाथासँगै कञ्चनजङ्गा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरिलगायतका हिमालहरू पनि चर्चा गर्नलायक रहेको बताए ।