इलाम— मोटरसाइकल दुर्घटना हुँदा इलाममा एकजनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन् ।

झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

OM Sai Pathibhara Hospital

तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका-१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिए ।

मोटरसाइकल चालक माई नगरपालिका-१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् ।

विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ । उनीहरू दुवैको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए ।

मोटरसाइकल लोदिया प्रहरी चौकीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ ।