काठमाडौं— गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका छन् । 

प्रधान कार्यालयको निरीक्षणका क्रममा मन्त्री लेखकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।

OM Sai Pathibhara Hospital

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरे । सो क्रममा उहाँले कानूनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी मुलुक वा समाजलाई न्याय दिने र सशस्त्र द्वन्द्वको क्रममा जीवनको पर्वाह नगरी निर्भीकतापूर्वक आफ्नो कर्तव्य पालना गर्ने सवालमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गरेको चर्चा गरे । 

Ramesh_Lekhak0

गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतका वावजूद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्दार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताए । 

लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘तपाईहरूले गर्नुभएको काम जनताले अनुभूति गर्ने विषयसँग जोडिन्छ । त्यसतर्फ यथेष्ट ध्यान रहनेछ भन्ने आग्रह गर्न चाहन्छु । निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा कुनै हालतले कमि हुनु भएन र यससँग सम्झौता हुन सक्दैन ।’ प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उनले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिवद्ध रहेको उल्लेख गरे । 

गृहमन्त्री लेखकले मानिसलाई कुनै पनि विपद् वा समस्या परेको बेला सबै भन्दा पहिला प्रहरीकोमा पुग्ने चर्चा गर्दै  पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरी थप सक्रिय हुन निर्देशन दिए । प्रहरी संगठनलाई थप व्यवस्थित, क्रियाशील र सुदृढ बनाउनका लागि प्रहरीसँग सम्बन्धित ऐनको समसामयिक संशोधन र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।  

Police

सो अवसरमा गृहसचिव एकनारायण अर्यालले प्रहरीले सीमित स्रोत र साधनका वावजूद अपराध नियन्त्रण, अनुसन्धान तथा विभिन्न प्राकृतिक प्रकोपका घटनाहरूमा अग्रपंक्तिमा रही निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रहरीले कर्तव्य पालनाको सिलसिलामा भोग्नुपरेका समस्याहरूको समाधानका लागि सरोकारवाला मन्त्रालयहरूसँग समन्वय गरिरहेको र प्रहरी ऐनमा समेत समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय कटिवद्ध रहेको बताए । 

नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउँदै गृहसचिव अर्यालले भने, ‘प्रहरी भनेको राज्य हो, राज्यले भेदभाव गर्न पाइँदैन । प्रहरीले स्वतन्त्र हिसाबले काम गरे मात्र संगठन अझ मजबुत हुन्छ ।’ प्रहरीको सक्रियताले अपराध नियन्त्रण तथा अनुसन्धान थप प्रभावकारी र राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रविधिको प्रयोग गरी उच्च मनोबलका साथ व्यावसायिक ढंगले कार्यसम्पादन गर्न निर्देशन समेत दिए । 

Ramesh_Lekhak2


Ramesh_Lekhak1


Ramesh_Lekhak6


Ramesh_Lekhak5


Ramesh_Lekhak4