मोरङ— मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन । 

ती बिरामीहरुलाई सेवा गर्ने त्यहाँ महिला नभएर सबै  पुरुष नर्स छन् । उनीहरु नझर्की, अत्ताई धैर्यपूर्वक, शान्त र नम्रबोलिचालीमा बिरामीको उपचार सेवामा खटिन्छन् । 

OM Sai Pathibhara Hospital

उनीहरु दैनिक साँझ बिहानमात्र नभएर आकस्मिक रुपमा अबेर राति पनि बिरामीको नियमित जाँच गर्ने,  समयमा औषधी खुवाउने, रगत तान्ने, हिस्ट्री लिने, रेकर्ड राख्नेदेखि, ईसीजी गर्ने र शौच गरेको नगरेको जाँच लिने र रिपोर्ट पठाउने गर्छन । 

डाक्टरलाई बिरामीको अवस्था व्रिफिङ गर्नेदेखि  बिरामी र कुरुवालाई काउन्सिलिङग गर्ने जिम्मेवारी उनीहरुकै हुन्छ । यति मात्र होइन सिकिस्त बिरामीलाई दिसापिसाब गराउन शौचालय लानेदेखि लुगा फेरिदिने, औषधी खान नमान्नेलाई फकाइफुल्याई खुवाउने काम पनि उनीहरुले गर्दै आएका छन् । 

विराट अस्पतालको मानसिक विभागमा अहिले महिला नर्स छैनन् । त्यहाँ सबै काम स्वास्थ्य सहायक पढेका तालिम प्राप्त पुरुषले नै नर्सको नै सेवा दिइरहेका छन । 

उसैपनि नर्स भएर विरामीको सेवा गर्नु सजिलो काम होइन् । यसकालागि शिक्षाको डिग्री मात्र भएर पुग्दैन । नर्स हुन मृदृभाषी, लगनसिल र जिम्मेवार पनि हुनुपर्छ । 

अझ मानसिक बिरामीको सेवा गर्ने काम कष्टकर र जोखिमपूर्ण हुन्छ । उपचार गर्न भर्नाका भएका बिरामी कोही मानसिक रुपले विक्षिप्त भएका हुन्छन भने कोही चिच्याउने कराउने, होल्हल्ला गर्ने कुटपिट गर्ने पनि हुन्छन । प्रायःले आफुलाई बिरामी मान्दैनन्, औषधी र खाना पनि पनि खान चाहदैनन झगडा गर्छन । कतिपय त अस्पतालबाट भागेर पनि जान्छन ।

बिरामी जाँचेर औषधी लेख्ने दक्षता हासिल गरेपनि आफुहरु थप अनुभव हासिल गरेर दक्ष स्वाथ्यकर्मी बन्न जोखिम मोलेरै  नर्स भएर बिरामीको उपचार गर्न लागिपरेको विराट अस्पतालमा मानसिक विभागमा कार्यरत नर्स निरजकुमार देव बताउँछ । 

निरज जस्तै तीन वर्षे स्वास्थ्य सहायक (एचए) कोर्ष गरेर तालिम लिएका विजय राजवंशी, मनोज मेहता, प्रशान्त ठाकुर, नितेशकुमार मेहता र सिकन्दर यादवहरु पुरुष नर्स बनेर मानसिक रोगीहरुको निरन्तर सेवा गरिरहेका छन् । 

‘हामीहरु पुरुष मात्र नभएर अशक्त महिला बालबालिका र जेष्ठनागरिक सबै बिरामीलाई कुनै भेदभाव नगरि कडा र जटिल खाले सबै बिरामीको सेवा गर्छौँ’, मानसिक विभागमा दुई वर्षदेखि नर्स भएर काम गर्दैै आएका मनोज मेहताले बताए ।