काठमाडौं— भुटानमा ३१ वर्ष १० महिनादेखि राजनीतिक बन्दीका रूपमा थिम्पुको चेम्गाङ केन्द्रीय कारागारमा रहेका रामबहादुर राई रिहा भएका छन्। 

उनी शुक्रबार रिहाइ भएको र लगत्तै उनी भारत–भुटान सीमाको भारतीय भूमि जयगाउँ हुँदै आइतबार भुटानी शरणार्थी शिविर बेलडाँगी पुगेका छन्। राजनीतिक कारणले पक्राउ गरिएका ३४ जना राजबन्दी भुटानका विभिन्न जेलमा छन्। उनीहरूमध्ये अधिकांश नेपालीभाषी छन्। 

OM Sai Pathibhara Hospital

भुटानी राजनीतिकबन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी)का संयोजक राम कार्कीले राई रिहा भएको जानकारी दिए। अभियानले भुटानी जेलमा रहेका राजबन्दीहरूको रिहाईका लागि अन्तराष्ट्रिय रूपमा दबाब दिँदै आएको छ।

‘भुटानमा जन्मेका ६६ वर्षीय भुटानी नागरिक राई जेल परेको ३१ वर्ष १० महिनामा रिहाइ भए’ नेदरल्यान्ड्सको हेगबाट अभियानका संयोजक राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

उनलाई थिम्पूस्थित चेम्गाङ केन्द्रीय कारागारबाट रिहा गरिएको थियो। राई बेलडांगी–१ सेक्टर सीमा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी कार्यालय (युएनएचसीआर)मा भुटानी शरणार्थीका रूपमा बसेका थिए। उनी भुटानमा राजनीतिक पर्चाहरू वितरण गर्दा पक्राउ परेका थिए र पछि उनलाई सन् १९९२ मा पक्राउ गरेर भुटान सरकारले राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत जेल चलान गरेको थियो। 

राईले आफन्त र साथीहरूलाई भेट्न कम्तीमा एक साता भुटानमा बस्न अनुमति मागेका थिए। तर, भुटान सरकारले यो अनुरोध अस्वीकार गरेको र रिहा भएकै दिन शुक्रवार भुटानका प्रहरीले राति ११ बजे सीमावर्ती छिमेकी भारतीय सहर जयगाउँमा ल्याएर छाडेका थिए। 

Rambahadur_Rai

उनले भुटानका प्रहरीलाई पाँच हजार स्थानीयका रुपैयाँ तिर्नुपरेको थियो। राईलाई भारतीय नागरिक राजु मगरले जयगाउँमा बुझेका थिए। दुई दिन जयगाउँमा बसेर उनी नेपालतर्फ आउँदा भारतीय प्रहरीले रोकेका थिए। 

कार्कीका अनुसार जेलमुक्त भएका राईले भारतीय नागरिक मगरलाई पानीट्यांकीस्थित नेपाल–भारत पूर्वी नाका ल्याएबापत तीन हजार रुपैयाँ तिरेका थिए। कागजात नभएको भन्दै भारतीय सुरक्षा अधिकारीहरूले उनलाई नेपाल प्रवेश गर्न रोकेका थिए। 

तर, बेलडाँगीबाट उनलाई लिन गएका उनका जुवाइँको प्रयासमा भविष्यमा भारत जान नपाउने सर्तमा नेपाल प्रवेश गर्न दिएको थियो। राई आइतबार साँझ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा पुगेका थिए। उनी छोरी गंगा र उनको परिवारसँग बसेका छन्। उनकी श्रीमती लक्ष्मीमाया राईको ०६६ सालमा निधन भइसकेको छ। भुटानको जेलबाट फर्केर आएका उनी थकित र बिरामी रहेको कार्कीले बताए।

सन् १९९० को दशकमा भुटानमा मानव अधिकार र प्रजातन्त्रका लागि शान्तिपूर्ण आन्दोलनमा सरकारले क्रूरतापूर्वक दमन गरेर एक लाखभन्दा बढी नागरिकलाई देशबाट निस्कासन गरेको थियो। योसँगै राजनीतिक कार्यकर्ता र मानव अधिकारकर्मीहरूलाई भुटान सरकारले पक्राउ गरेको थियो। 

अझै ३४ जना राजबन्दी जेलमा

अभियानका अनुसार रामबहादुर राई रिहाइपछि पनि ३४ जना भुटानको जेलमै छन्। राईका अनुसार कारागारमा रहेका बन्दीहरूको अवस्था दयनीय छ, खाना, औषधि र अन्य सुविधा अपर्याप्त छन्। 

कैदीहरूलाई अहिले प्रहरीले शारीरिक यातना नदिएको उनले सुनाए।  वर्षौदेखि चेम्गाङ जेलमा रहेका डम्बरसिंह पुलामी, गंगाराम ढाकाल, नन्दलाल बस्नेत, गोविन्द निरौला र ओमनाथ अधिकारी विभिन्न रोगबाट पीडित छन्। अभियानले सबैलाई विनासर्त रिहाइका लागि भुटान सरकारसँग माग गरेको छ। 

हाल जेलमा रहेका अन्य राजबन्दीहरूमा रिन्जिनवाङदी, तेन्जिङ गावाजाङपो, किन्ले पेन्जोर, किन्ले गेल्सेन, रामलाल रावत, विष्णु राई, मधुलाल बुढाथोकी, एमबि भुजेल, लोकबहादुर घले, शेरबहादुर गुरुङ, कुमार राई, प्रेम राई, गंगाराम ढकाल, भक्तबहादुर राई, मनिकुमार प्रधान, प्रकाश मगर, हर्कबहादुर गुरुङ, डम्बरसिंह पुलामी, योगीप्रसाद सुब्बा, कुमार गौतम, हस्तबहादुर राई, सुकमान मगर, बिर्खबहादुर बस्नेत क्षेत्री, गोविन्द निरौला, नन्दलाल बस्नेत, ओमनाथ अधिकारी, खगेन्द्र खनाल, ऐतराज राई, सनमान गुरुङ, चतुरमान तामाङ, चन्द्रराज राई, प्रतापसिंह भट्टराई, चन्द्रमान सुब्बा, भीबहादुर राई छन्।