साइक्लिङ शारीरिक तन्दुरुस्तीको उपर्युक अभ्यास हो । साइक्लिङलाई हामीले जीवनशैलीसँग जोड्न सके हाम्रो शरीर स्वस्थ र फूर्तिलो बन्नेछ। साथै मुटुरोग तथा उच्च रक्तचापको जोखिम कम हुने अध्ययनहरूले देखाएका छन् । 

नियमित साइकल चलाउँदा मुटुरोग, स्ट्रोक र उच्च रक्तचापको जोखिम कम हुन्छ।

त्यस्तै साइकल चलाउँदा तपाईंको मांसपेशी बलियो हुन्छ। शरीरमा लचिलोपन बढ्छ। यसले समग्र शरीरको कसरत गराउँछ। 

साइकल चलाउँदा पर्याप्त क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ। साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत मिल्ने चिकित्सकहरू बताउँछन् । 

साइकल चलाउँदा मानिसको मस्तिष्क निकै सक्रिय हुने भएकाले तनाव कम हुन्छ । अन्य साइडबाट आइरहेका गाडी र मानिसलाई सचेततापूर्वक नियालेर साइकल गुडाइने भएकाले तपाईंको ध्यानशक्ति बढेर जान्छ। यसले तपाईंको मुडमा पनि सुधार ल्याउँछ। 

तपाईंलाई थप ऊर्जावान् महसुस गर्न सहयोग गर्दछ। 

दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ। यसले तपाईंको पाचन प्रणाली सुधार हुन्छ। त्यसपछि आफूलाई मन परेको खानाको मज्जा लिन सकिन्छ। 

ध्यान दिनुपर्ने कुरा

शहरी क्षेत्रमा साइकल गुडाउँदा हेल्मेट र मास्क अनिवार्य लगाउनुपर्छ। हेल्मेटले टाउकोको सुरक्षा गर्छ, त्यस्तै मास्कले प्रदूषणबाट जोगाउँछ। 

धुलो–धुवाँ धेरै उड्ने ठाउँको साटो तपाईंले प्रदूषणरहित र शान्त क्षेत्रमा साइकल चलाउनु राम्रो हुन्छ। त्यस्तै, टाढाको दूरीमा साइक्लिङ गर्दा समूहमा जानु राम्रो हुन्छ। साइकल मर्मत गर्ने केही उपकरणहरू पनि आफूसँगै बोक्नुपर्ने हुन्छ। 

टुलबक्स बोकेर हिँड्दा राम्रो हुन्छ। साइकल पंचर पनि हुन सक्छ। त्यसैले लामो दूरी जाँदा ट्युब बोक्नुपर्छ। हावा हाल्न पम्प सँगै बोकेर हिँड्नुपर्छ। यस्तो हुँदा जहाँ बिग्रेको छ, त्यहीँ बनाएर हिँड्न सकिन्छ।