काठमाडौं— नेकपा एकीकृत समाजवादी (नेकपा एस)को राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि हुँदैछ । नेकपा एमालेबाट दुई वर्षअघि अर्थात् २०८७ सालमा छुट्टिएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको १०औँ महाधिवेशन आजदेखि असार २० सम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । 

सर्वोच्च अदालतको फैसला र एमालेबाट विद्रोह गरेर बनेको पार्टीको यो प्रथम महाधिवेशन हो । महाधिवेशनको लागि पार्टीले एक हजार आठ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । महाधिवेशनले पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

OM Sai Pathibhara Hospital

आजदेखि सुरु हुने महाधिवेशनको लागि प्रमुख तीन नेताहरूबीच रस्साकस्सी चलिरहेको छ । महाधिवेशनबाट पार्टीको नेतृत्व लिन वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकांक्षी देखिएका छन् । 

नेताहरूले सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिरहँदा पार्टीभित्रको कसरतले त्यो सम्भावना देखिएको छैन । अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवमा पनि झण्डै आधा दर्जन नेताहरू आकांक्षी छन् । नेताहरू प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, डा.विजय पौडेल, रामकुमारी झाँक्री, डा.गंगालाल तुलाधर लगायतका नेताहरू महासचिव बन्न दौडधुप गरिरहेका छन् । 

यस्तै, अन्य पदहरूमा पनि आकांक्षीहरूको लर्को लागेको छ । संघीय संसद्मा १० र राष्ट्रिय सभामा आठ सदस्य रहेको नेकपा एसले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुंगियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको दाबी गर्नुभएको छ । शनिबार पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका दस्ताबेजहरू जस्तै नेतृत्व पनि सहमतिमा नै टुंगिनुपर्ने बताए । उनले भने, ‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल गर्‍यौँ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रूपमा चारवटै दस्ताबेज पारित पनि भएका छन् । सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्तामा उत्साहको लहर सृष्टि भएको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुंगो लगाइयोस् र नेताहरू मिलेर अगाडि बढुन् भन्ने चाहना रहेको हामीले सुनिरहेका छौँ ।’

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरेका छन् । । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा नेता खनालले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे । 

नेताहरूको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको दाबी गरेका नेता खनालले कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु ठूलो कुरा नभएको जिकिर गरे । उनले भने, ‘हामीले आउने महाधिवेशनबाट निर्माण गरेको नेतृत्व सर्वसम्मत हुनेगरी निर्माण गरौँ । त्यो सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउँछ । हामी नेताहरूको बीचमा कहीँ पनि त्यस्तो ठूलो समस्या छैन । हामी कहिलेकाहीँ बहस गर्दछौँ । कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन । अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ कि पर्दैन ? लोकतान्त्रिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौँ ।’ 

नेकपा एसका महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताए। उनले आफूहरूले समस्या समाधान गर्नुपर्ने कुराहरूलाई ध्यानमा राखेर कार्यक्रम ल्याउने दाबी गरेका छन्। ‘आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो । हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्नसक्ने गरी हाम्रो नेतृत्व एकताबद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौँ,’ भुसालले भने ।

एक हजार आठ सयबढी प्रतिनिधि सहभागी हुँदै

नेकपा एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । 

महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानेको हो । महाधिवेशनका लागि एक हजार ८४९ प्रतिनिधिको व्यवस्था गरिएको छ । केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएपछि छनोट गर्न बाँकी प्रतिनिधिको विषय पनि टुंगो लागेको नेकपा एसले जनाएको छ । 

अधिकांश स्थानमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको थियो । महाधिवेशन आयोजक समिति स्वतःप्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४५० केन्द्रीय नेता स्वतः प्रतिनिधि छनोट भएका छन् । छनोट गरिएका प्रतिनिधिको कुल संख्याको पाँच प्रतिशत अर्थात् ९५ जना मनोनयन गर्ने व्यवस्था गरेको छ ।

महाधिवेशनमा साझा दस्तावेज पेस हुने

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुनेछ । पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिकसम्बन्धी प्रतिवेदनलाई साझा दस्तावेजको रूपमा महाधिवेशनमा प्रस्तुत गरिने बताइएको छ । पार्टीको सचिवालय बैठकले चारवटा प्रतिवेदनलाई अनुमोदन गर्दै त्यसलाई एक मात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।