काठमाडौं— भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन्। फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे। 

सन्यासपछि उनले भनेका छन्, ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो । मैले मेरो काम पूरा गरेँ। अब, नयाँ पिँढीका लागि अवसर हो। केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन्।’

OM Sai Pathibhara Hospital

शनिबारको खेलमा भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए। उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए। कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन्। प्रतियोगितामा उनको यो पहिलो अर्धशतक थियो। यसअघि उनी समूह चरण, सुपर एट र सेमिफाइलनमा चल्न सकेका थिएनन्। निर्णायक फाइनल खेलमा भने कोहलीले सम्हालिएको प्रदर्शन गरे। फाइनलअघि उनले जम्मा ७५ रन बनाएका थिए। 

सन् २०१० मा डेब्यु

कोहलीले सन् २०१० मा हरारेमा भएको खेलमा जिम्बाव्वेविरुद्ध डेब्यु गरेका थिए। अन्तिम खेल भने दक्षिण अफ्रिकाविरुद्ध रह्यो।

एक समय कप्तान समेत रहेका कोहलीले टी–२० आईमा भारतको लागि एक सय २५ खेल खेलेका छन्। जसमा चार हजार एक सय ८८ रन बनाएका हुन्। जसमा एक सतक र ३८ अर्धतक बनाएका हुन्।