काठमाडौं— भारत दोस्रोपटक आइसिसी टी–२० विश्वकपको च्याम्पियन बनेको छ। 

शनिबार राति वेस्ट इन्डिजमा भएको फाइनलमा दक्षिण अफ्रिका ७ रनले पराजित गर्दै १७ वर्षपछि उपाधि जित्यो। वेस्ट इन्डिजको बार्बाडोसमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। 

OM Sai Pathibhara Hospital

प्रत्युत्तरमा दक्षिण अफ्रिकाले आठ विकेट गुमाउँदा मात्र १ सय ६९ रन बनाउन सक्यो। भारत सन् २००७ पछि दोस्रोपटक उपाधि जित्न सफल भयो। अपराजित रहँदै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधि जित्न फेरि असफल भएको छ। एडम मारक्रम कप्तानीमा रहेको दक्षिण अफ्रिका यसअघि टी–२० मा दुई तथा एकदिवसीयमा पाँचपटक सेमिफाइनलमा पुगेर चुकेको थियो। भारत भने अपराजित हुँदै च्याम्पियन हुन सफल भयो। 

हेनरिकको अर्धशतक छायामा 

दक्षिण अफ्रिकाको लागि हेनरिक क्लासेनले अर्धशतक बनाए। उनले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सफल भएनन्। 

यसअघि क्लासेनले २३ बलमा अर्धशतक बनाएका थिए। १५औँ ओभरमा स्पिनर अक्षर पटेललाई क्लासेनले दुई छक्का र दुई चौकासहित २४ रन प्रहार गरेपछि दक्षिण अफ्रिका सहज अवस्थामा पुर्‍याएका थिए। तर, बाँकी खेलाडीले त्यसको भरपुर सदुपयोग गर्न सकेनन्। 

ओपनर क्विन्टन डी ककले ३१ बलमा चार चौका र एक छक्कासहित ३९ रनको योगदान गरे। ट्रिस्टान स्टब्सले २१ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडेका हुन्। यसअघि ओपनर रिजा हेनरिक चार रन बनाउँदा जसप्रित बुमराहबाट बोल्ड भएका थिए। 

दक्षिण अफ्रिकाको इनिङ्समा क्लासेन र डी ककले ३८ बलमा सर्वाधिक ६८ रनको साझेदारी गरे। क्लासेन र डेभिड मिलरबीच ४५ रनको दोस्रो ठूलो साझेदारी भएको थियो। मिलरले २१ रनको योगदान गरे। भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए। स्पिनर अर्सदीप सिंह र जसप्रितले समान दुई विकेट हात पारे। अक्षरको नाममा एक विकेट रह्यो। 

कोहली र अक्षरको बलियो साझेदारी

भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए। उनले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन्। अलराउन्डर अक्षर पटेलले ३१ बलमा ४७ रन बनाएका हुन्। 

अर्का ओपनर तथा कप्तान रोहित शर्मा ९ रन, तेस्रो क्रममा आएका ऋषभ पन्त डक आउट तथा सूर्यकुमार यादव ३ रन बनाएर आउट भएपछि भारत दबाबमा आएको थियो। तर, अक्षर र कोहलीले भारतको इनिङ्स धानेका थिए। दुई खेलाडीबीच ५४ बलमा सर्वाधिक ७२ रनको साझेदारी भयो। 

कोहली र शिवम् दुबेबीच ३३ बलमा ५७ रनको दोस्रो ठूलो साझेदारी भएको हो। दुबेले १६ बलमा २७ रन बनाए। दक्षिण अफ्रिकाका एनरिच नर्टजी र केशव महाराजाले समान दुई विकेट हात पारे। माक्रो जनसन, कागिसो रबडाले समान एक विकेट लिएका हुन्।