काठमाडौं— तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ।
जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।
विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।
फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ।
वि.सं.२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो।
उनी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए ।
को थिए मदन ?
लक्की चौधरीले गोरखापत्रमा लेखेको लेख
जननेता मदन भण्डारी पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पिता देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीका माहिलो छोराको रूपमा २००९ साल असार १४ गते जन्मनुभएको हो। गृह जिल्लामा सामान्य पढाइपछि उहाँले स्नातकोत्तर तहसम्मको शिक्षा बनारसबाट पूरा गर्नुभयो। मदन भण्डारी नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय र जनताले मन पराएका नेता हुनुहुन्थ्यो। नेपालमा वामपन्थी शक्ति उदयको त उहाँ स्रोत नै बन्नुभयो। उहाँकै आदर्श र सिद्धान्तको बलमा नेपालमा कम्युनिस्ट शक्ति फस्टाए।
कम्युनिस्टहरू दुई दिनका पाहुना होइनन्, समाज रूपान्तरणका संवाहक हुन् भन्ने उहाँको भनाइ आज पनि उत्तिकै गर्विलो छ। विश्वभर कम्युनिस्ट आन्दोलन धर्मराएका बेला नेपालमा कम्युनिस्ट शक्तिको उदयमा नेता भण्डारीको योगदानको राजनीतिक वृत्तमा निकै चर्चा हुने गर्छ। नेपाली कम्युनिस्ट राजनीतिलाई उचाइमा लैजान उहाँले आफैँ जनताको बहुदलीय जनवाद (जबज) को विकास गर्नुभयो। त्यही सिद्धान्तको बलमा नेपालको कम्युनिस्ट आन्दोलन मात्र होइन समग्र नेपाली राजनीतिले प्रेरणा लिने अवसर पायो। उहाँको निधन भएको आज करिब तीन दशक पुग्नै लाग्दा उहाँले प्रतिपादन गर्नुभएको जबजको सान्दर्भिकता उत्तिकै छ।
जननेता भण्डारी जनताको मनमा बस्नुहुन्थ्यो। भाषणमा होइन, व्यवहारमै पुष्टि गर्न गाउँगाउँमा जनताको सामीप्यतामा बस्न रुचाउनुहुन्थ्यो। राजनीति जनताको हितका लागि गरिनुपर्छ नकि आफ्नो स्वार्थका लागि भन्ने उहाँको मूल उद्गार थियो। त्यसैले पनि उहाँ जनताकै घर आँगनमा रमाउनु हुन्थ्यो। सुख दुःखमा साथ दिनुहुन्थ्यो। जनताको हित र चाहना परिपूर्ति गर्नमै उहाँले सम्पूर्ण ध्यान केन्द्रित गर्नुभयो। आफ्नो जीवन समर्पित गर्नुभयो। जनताप्रतिको उहाँको त्यो समर्पण देखेर त्यतिबेलाका समकालीन नेताहरू कोही खुसी भए, कोही डाह गर्थे। नेपालमा मात्र होइन, बाह्य मुलुकमा पनि उहाँको कार्यशैली र व्यवहारको चर्चा चुलियो।
जनताका शत्रुहरूप्रति जिउँदो बाघजस्तै गर्जने तथा मजदुर किसान शोषित पीडितहरूका लागि आँखाको नानीजस्तै बन्नुभयो नेता भण्डारी। त्यतिबेला राजसंस्थालाई टुँडिखेलबाट ठाडै चुनौती दिनु चानचुने विषय थिएन। उहाँले त्यो आँट गर्नुभयो। राजालाई निर्वाचनको प्रतिस्पर्धा गर्न आउन चेतावनी दिनुभयो। समकालीन नेताहरू कसैमा पनि त्यो तहको आँट र साहस देखिएन। भनिन्छ– मदन भण्डारी परिवर्तनकारी हुरी बतास भएर आउनुभयो, गाउँबस्ती चलायमान गरेर जानुभयो। आफ्नो कामले जनतामाझ निकै चर्चा बटुल्नुभयो। त्यही देखेर अमेरिकी पत्रिका न्युजवीकले लेख्यो ‘कार्ल माक्र्स लाइव इन नेपाल’। अर्थात् कार्ल माक्र्स नेपालमा जीवित छन्।
मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको प्रखर अगुवा र कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार बन्नुभयो। उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपले मार्गदर्शन मात्र दिएन, जनताको हित र शान्तिपूर्ण परिवर्तनको रोडम्याप नै बन्यो। सामन्तवाद विरोधी आन्दोलनका अगुवा र गणतन्त्रका प्रबल पक्षधर भण्डारीले अघि सार्नुभएको विचारलाई आधार मान्दै नेपालका कम्युनिस्ट शक्तिहरू अहिले चलायमान छन्। उहाँकै योगदानको ब्याज खाएर जनताबाट मत बटुलिरहेका छन्। त्यतिबेला उहाँका धुरन्धर विरोधीहरू अहिले उहाँको प्रशंसा गरेर थाक्दैनन्। आज भण्डारी जीवित रहनुभएको भए नेपालको राजनीतिक परिवर्तन कस्तो हुन्थ्यो ? राजनीतिक वृत्तमा चर्चा र अड्कल काट्ने धेरै छन्।
जननेता भण्डारी पढाइमा तेज हुनुहुन्थ्यो। जनताका लागि, देशका लागि राजनीति गर्ने नेता अब्बल र क्षमतावान् हुनुपर्छ भन्ने उहाँको विचार थियो। सिर्जनात्मक सोच र कार्यशैलीले मात्र आमनेपालीको जीवनस्तर बदल्न सक्छ भन्नुहुन्थ्यो। नेताले जनताको जीवनका लागि आफूलाई बदल्न सक्नुपर्छ, आफ्नो स्वार्थलाई तिलाञ्जली दिनुपर्छ उहाँको सोच थियो। सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रखर व्यवहारवादी नेताको रूपमा दरिनुभएको थियो। अनुशासन र लगनशीलता उहाँको जीवनको प्रमुख विशेषता थियो।
नेता भण्डारी राजनीतिमा मात्र नभएर साहित्य क्षेत्रका सशक्त हस्ताक्षर हुनुहुन्थ्यो। उहाँको साहित्यिक सिर्जना त्यत्तिकै सबल र मन छुने छन्। सिर्जनामार्फत समाज रूपान्तरण गर्न सकिन्छ भन्ने उहाँको बलियो ध्येय रहेको देखिन्छ तर उहाँको राजनीतिक व्यक्तित्वको जति चर्चा हुन्छ, साहित्यिक पाटोको चर्चा कम हुने गरेको छ। राजनीतिक जीवनको थालनी हुनुअघि उहाँको साहित्यिक जीवन थियो। उहाँको सिर्जनामा युगीन र कालजयी थिए। दूरगामी प्रभाव पार्नेखालका थिए। प्रखर परिस्कृत कवित्व क्षमता उहाँको जीवनमा लुकेको विशेषता हो।
जुन नेपाली साहित्यिक फाँटले चर्चा गर्न सकेको छैन। आफ्नो रचनामा देश, जनता र मानवीय पक्षको चित्र उतार्न सक्ने खुबी उहाँमा थियो। उहाँद्वारा रचित साहित्यिक रचनाले मानव विकास र समाज रूपान्तरणका चेत बोकेका थिए, जुन चीरकालसम्म जीवन्त र पठनीय रहनेछन्। प्रवासमा रहँदा उहाँको व्यक्तित्व साहित्यिक रचनाकारमा परिचित थियो। उहाँका समकालीन नेताहरू भण्डारीलाई प्रखर साहित्यिक व्यक्तित्वको रूपमा चिन्थे। उहाँमा रहेको अद्भूत साहित्यिक क्षमताको मुक्तकण्ठले प्रशंसा गर्ने गर्थे।
नेता भण्डारी किसान, शोषित पीडित जनताको आवाज बनेर उदाउनुभयो। नेपालबाट शोषण, उत्पीडनको अन्त्य नभएसम्म नेपाली जनताको मुक्ति सम्भव हुँदैन र जनता शोषणबाट मुक्त नहुँदासम्म नेपाल बन्दैन उहाँको राजनीतिक जीवनको बटमलाइन थियो। शोषित, पीडित जनताको मुक्तिका लागि उहाँ सशस्त्र आन्दोलन गर्न पनि तयार हुनुभयो। आफ्नो जीवनकालमा लामो समय भूमिगत रहेर तत्कालीन शासन व्यवस्थाविरुद्ध अभियान चलाउनुभयो।
जननेता भण्डारीमा अलग विशेषता थियो। जनता र देशको स्वार्थलाई उहाँ जहिले केन्द्रमा राख्नुभयो। आर्थिक पारदर्शिता उहाँको अर्को विशेषता थियो। सङ्गठनको नेतृत्व गर्दा होस् या दलको नेतृत्व गर्दा होस् उहाँले आर्थिक पक्षलाई पारदर्शी बनाएर नेतृत्व गर्नुभयो। आफ्नो जीवनकालमा आर्थिक पक्षमा उहाँ विवादमा तानिनु भएन।
राजनीतिक विचार र कार्यशैलीले समकालीन नेताहरूबीच अनेक मतभेद भए तथापि आर्थिक पक्षमा उहाँमाथि कसैले औँला ठड्याएको भेटिँदैन। पार्टीको महासचिवजस्तो पदमा रहँदा पनि उहाँ डेरामा बस्नुभयो, काठमाडौँमा घर बनाउनु भएन। आलिसान जीवन जिउने सोच पनि मनमा आएन। उहाँको लवाइखवाइ सामान्य थियो। जनताबीच जाँदा उहाँ धेरैजसो पैदल हिँड्नुहुन्थ्यो। जनतासँगै घुलमिल भएर बस्न रुचाउनुहुन्थ्यो।
पुष्पलालले कम्युनिस्ट पार्टी गठन गर्नु भए पनि त्यसमा सिद्धान्त र प्राण भर्ने काम नेता भण्डारीले गर्नुभयो। त्यसबेला पुष्पलाल र भण्डारीबीच अनेक कुरामा मतभेद पनि भए। नेपालका कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने र बहुदलीय व्यवस्था स्थापनाका निम्ति सबै परिवर्तनकामी शक्तिहरूलाई जोड्ने अभियन्ताका रूपमा पनि नेता भण्डारीले भूमिका निर्वाह गर्नुभयो। तत्कालीन निरङ्कुश एकदलीय शासन व्यवस्थाको अन्त्य गर्न बहुदलीय व्यवस्थाका पक्षधर शक्ति एक ठाउँ आउन अपरिहार्य भएको बुझाइ उहाँको थियो।
भण्डारी छोटो जीवन जिउनुभयो तर आफूलाई नेपाली जनतामाझ स्थापित गर्नुभयो। नेपाली जनताको मनमा बस्न सफल हुनुभयो। जनताको दुःखलाई आफ्नो दुःख सम्झेर समाधानार्थ प्रयास गर्ने गुण थियो। उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशाहीन हुन दिनुभएन। कम्युनिस्ट शक्तिलाई जनताले मन नपराइरहेका बेला जनतामाझ स्थापित गराउनुभयो। यो चानचुने कुरा थिएन। आजका राजनीतिक नेतृत्वहरूले नेता भण्डारीको कामको गुणगान त धेरै गाएका छन् तर उहाँले देखाएको बाटो हिँड्न भने सकेका छैनन्।