मोरङ— मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् ।
सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो ।
बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव भेटिएको छ ।
दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
माछा मार्ने क्रममा बगेकी सुन्दरहरैचा– ५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् । २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीय फुला चौधरी बेपत्ता छन् । उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको छ ।