काठमाडौं—  नेपालबाट हराएका २४ मूर्ति एक अमेरिकी महिलाले फिर्ता गरेकी छन्। हवाई राज्यमा बसोवास गर्ने सुसन ब्राडफोर्डले वासिङटनस्थित नेपाली दूतावाससँग समन्वय गरेर ती कलाकृति फिर्ता गरेकी हुन्। 

उनले एक महिनाअघि मूर्तिका फोटोसहित दूतावासलाई पत्राचार गरेर फिर्ता दिन चाहेको जानकारी गराएकी थिइन्। 

OM Sai Pathibhara Hospital

त्यसपछि दूतावासले परराष्ट्र मन्त्रालय हुँदै पुरातत्व विभागलाई सो पत्र पठायो। विभागले नेपाली शैलीका मूर्तिकला छुट्याएर यकिन गरेपछि महिलालाई जानकारी गराइएको थियो। त्यसपछि उनले मूर्ति फिर्ता गरेकी थिइन्। प्रक्रिया पुगेपछि २२ जेठमा परराष्ट्र मन्त्रालय हुँदै मूर्ति फिर्ता गरिएको थियो। 

पुरातत्व विभागकी महानिर्देशक  सौभाग्य प्रधानांगले मूर्ति हराएका बारे थाहापत्तो नपाएको बताउँदै मूर्ति फेला पर्नु खुसीको कुरा रहेको बताइन्। 

अमेरिक महिलाले उमेर ढल्किँदै गएपछि नेपाललाई फिर्ता दिने सोच बनाएको पाइएको उनले बताइन्। 

हाल ती कलाकृति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको छ। मूर्तिकला हेर्दा काठमाडौं उपत्यकाभित्रकै र करिब चार सय वर्षअघिसम्मका हुन सक्ने विभागको ठम्याइ छ। 

यी हुन् अहिले फिर्ता भएका मूर्ति

१. तामाबाट बनेको मञ्जुश्रीको शक्ति।, २. बाराहीको मूर्ति।, ३. ढलोटको कुवेर।, ४. ढलोटको अघोर भैरव।, ५. ढलोटको महिषासुर मर्दिनी।, ६. ढलोटको बिघ्नान्तक भैरव।, ७. तामाको प्रज्ञापारिता।, ८. ढलोट र तामाको किन्नर अप्सरा।, ९. ढलोटको मञ्जुश्री शक्ति।, १०. काठको चमुण्डाको शिर।, ११. प्रस्तरको सरस्वती।, १२. प्रस्तरको मञ्जुश्री शक्ति।, १३. प्रस्तरको अगस्थमुनि।, १४. कागजको हस्तलिखित ग्रन्थलगायत स्तुपा।, 

१५. तामाबाट बनेको कालीयन्त्र।, १६. हाड कंकालयन्त्र।, १७. काठ फुर्वा।, १८. फलामको भोटे ताल्चा।, १९. ढलोटको सिन्दुर दानी।, २०. फलामको त्रिशूल।, २१. तामाको बाला।, 

२२. ढलोटको बाला।, २३. तामाको आरतीपात्र। र २४. कुवेर, जोगिनी, मञ्जुश्री र सिक्काका साना मूर्ति।