काठमाडौं- नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेश सभाका पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा आइतबार पेसी तोकिएको थियो। 

OM Sai Pathibhara Hospital

मुद्दामा धेरै कानुन व्यवसायीले बहस गर्न बाँकी भएपछि हेर्दाहेर्दैमा राखिएको हो। देवकोटाले आफूमाथि गरिएको कारबाही बदरको माग गर्दै सर्वोच्चमा गन असार ६ गते रिट दायर गरेका थिए। 

उनको मुद्दा आइतबार चौथो नम्बरमा पेसी चढेको थियो। 

पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दललले देवकोटालाई कारबाही  गर्न प्रदेश सभाको संसद सचिवालयमा पत्र पठाएको थियो। त्यसपछि सभामुखले उक्त पत्र संसद बैठकमा पढेर सुनाएका थिए। 

माओवादीको पत्र संसद सचिवालयमा पुगेर सभामुखले सभामा वाचन गरेसँगै देवकोटा पदमुक्त भएका थिए। उनले नेपाली कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। 

देवकोटा पाण्डे नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्री समेत बनेका थिए।