काठमाण्डौ   ।    अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । ´आफू र समाजका लागि योग` भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

IMG-20240326-WA0001 2

OM Sai Pathibhara Hospital

योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ । यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो । यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ । साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँदछ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

मोदिको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

योगको शाव्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । योग शब्दको सामान्य अर्थ सम्बन्ध पनि हो । पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । बास्तबमा हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति  र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।

रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृमतर्फ, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो  । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन्। संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।

अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ ।