काठमाण्डौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् ।  साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।

पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइजाको घरमाथिबाट आएको पहिरोले घरमा पूर्णरुपमा क्षति पुर्याएको छ। पहिरोले आठ पहिरोको उच्च जोखिममा छन् भने थप १० घरधुरीसमेत पहिरोको जोखिममा रहेका छन् ।

OM Sai Pathibhara Hospital

दानाको सुवासँगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ । सुवा गाउँको शिर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्कबिच्छेद भएको थियो भने सुरक्षित ठाउँमा समेत जान नसक्ने अवस्था आएको थियो । पहिरोको चपेटामा परेका स्थानीयवासीलाई सुरक्षित स्थानमा बसोबासका लागि आवतजावन गर्न आइतबार दानाका स्थानीयले पहिरो पन्छाएर अस्थायी बाटो बनाएका छन् ।

पहिरोले उच्च जोखिममा रहेका १० घरपरिवारलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा लगेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । आइतबार सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बसोबासको पूर्वाधार निर्माण गरेका छन् ।

पहिरोको चपेटामा परेको सुवा गाउँको पहिरोको जोखिमको अवस्थाबारे आइतबार गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, गाउँपालिकाका उपाध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडाध्यक्ष रमेश पुर्जा, सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामी लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

अहिले सुवामा सुकेबगर र द्ववारीखोलाबाट गाउँ जोड्ने पदमार्ग अधिकांश पहिरोले बगाएको छ । पहिरोले गाउँको सम्पर्कबिच्छेद गराएको र धेरै घर जोखिममा रहेको देखिएको स्थलगत निरीक्षणमा पुग्नुभएका प्रदेशसभा सदस्य भण्डारीले बताए । उनले पहिरोबाट घरबारविहीन भएकाको स्थायी पुनःस्थापना र तत्कालको लागि सहज बसोबासको आवश्यक प्रबन्ध मिलाउने काममा प्रदेश सरकारमा समेत आवश्यक पहल गर्ने जानकारी दिए ।