काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्। बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन्। उनले सम्पूर्ण पत्रकारको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताए।

OM Sai Pathibhara Hospital

उनले आम सञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोवास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री दाहालले सञ्चारकर्मीको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए।

उनले भने, ‘वर्तमान सरकार मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिई संरक्षण र संवर्धनको नीति लिँदै आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिबद्ध छ।’

उनले वर्तमान सरकार सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवर्धनको नीति लिँदै आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिबद्ध रहेको जिकिर गरे।

उनले प्रेससम्बन्धी आवश्यक कानून निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारूप तयार गर्ने जिम्मेवारीलाई गम्भीरपूर्वक लिँदै नीतिगत र कानूनी रूपमा देखिएका समस्या र उल्झन सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले रेडियो सञ्चालक एवं नियमनको जिम्मेवारी तहगत रूपमा संघ, प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गरे पनि संविधानमा व्यवस्था गरिएका एकल र साझा अधिकार सूचीको प्रभावकारी कार्यान्वयनका निम्ति नीतिगत र कानूनी प्रावधान पर्याप्त नभएको बताए।

प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रता र सबलीकरणको सवालमा सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए। उनले आफ्नो तेस्रोपटकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा वाक् र प्रेस स्वतन्त्रतासँग सम्बन्धित केही विषय विवादमा आउन थालेपछि आफूले प्रेस स्वतन्त्रताका पक्षमा पहल अघि बढाएको बताए।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन्।​ बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।

उपाध्यक्ष पाण्डेले नेपालीहरू स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौं व्यापार घाटा भएको उल्लेख गर्दै सबै नेपालीले स्वदेशी सामग्रीको प्रयोग बढाउनुपर्ने बताए।

पाण्डेले भने, ‘सामुदायिक रेडियोहरूलाई बचाइराख्नुपर्छ। यसमा साथ सहयोग दिन म तयार छु। आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ। सामुदायिक रेडियोले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ।’

उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाए। कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा पनि बोलेका थिए।